
वीरगञ्ज-वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले महानगरवासीको स्वास्थ्य सेवा प्रभावकारी रुपमा प्रवाह हुनुपर्ने बताएका छन् ।



मानव स्वास्थ्यको विकास नभई अन्य विकासको कुनै औचित्य नहुने बताउदै नगर प्रमुख सरावगीले स्वास्थ्य, शिक्षा र मानवता महानगरपालिकाको प्राथमिकतामा रहेको स्पष्ट पारे । स्वास्थ्य सेवा प्रवाहमा कुनै कमी हुन नहुने पनि उनले बताए ।



युनिसेफ नेपाल र काठमाडौं मेडिकल कलेजको आयोजनामा र महानगरपालिकाको सहकार्यमा दुई दिने प्राथमिक स्वास्थ केन्द्रसम्बन्धी दुईदिने कार्यशाला गोष्ठीको समापन समारोहमा सोमबार उनले नागरिकले स्थानीय सरकार आएपछि घरदैलो मै प्रभावकारी स्वास्थ्य सेवाको अपेक्षा गरेको बताए ।



मेयर सररावगीले सोहीअनुसार स्वास्थ्य सेवा प्रवाह गर्न महानगरका कर्मचारीहरुलाई निर्देशन पनि दिए । उनले तालीम र प्रशिक्षणले कर्मचारीहरुलाई दक्ष बनाउने र यसले सेवा प्रवाहमा पनि महत्वपूर्ण भूमिका खेल्ने बताए ।
कार्यक्रममा उपप्रमुख शान्ति कार्की, स्वास्थ्य तथा सामाजिक महाशाखा प्रमुख अरुण महतो, स्वास्थ्य संयोजक ऋतेश जयसवाल, युनिसेफका प्रतिनिधिलगायतमको सहभागिता थियो ।