बजेट कार्यान्वयनबारे अर्थमन्त्रीले थाले मन्त्रालयका सचिवहरुसँग छलफल

काठमाडौं–चालु आर्थिक वर्षको बजेट कार्यान्वयनका विषयमा अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालयका सचिवहरुबीच उच्चस्तरीय छलफल थालेका छन् ।
सोमवार अर्थमन्त्रालयमा आयोजित बैठकमा नयाँ बजेटले समेटेका नयाँ कार्यक्रम तथा अघिल्लो बजेटबाट निरन्तरता दिइएका आयोजनाहरुको प्रभावकारी कार्यान्वयन गर्ने विषयमा छलफल भएको हो ।


बजेटमा विकासका आयोजना कार्यान्वयन गरी पूँजिगत खर्च बढाउन मासिक कार्य प्रतिशत निर्धारण गर्ने, कार्यविधि तयार गर्नुपर्ने विषयहरुमा तत्काल कार्य सम्पन्न गर्ने, अन्तरमन्त्रालय समन्वय गरी निर्णय गर्नुपर्ने विषयलाई यथाशीघ्र अघि बढाउनेलगायतका निर्णय भएको छ ।
बजेट कार्यान्वयन र पूँजिगत खर्चका सम्बन्धमा अर्थमन्त्रायबाट सम्पादन हुने कार्यहरुमा कुनै ढिलाई नहुने प्रतिवद्धता समेत उनले गरे । मन्त्री शर्माले अर्थमन्त्रालयमा आएका कार्यविधि निर्माण सम्बन्धी पुराना फाइलहरु ७ दिनभित्र र अब प्राप्त हुने नयाँ फाईलहरु ३ दिनभित्र टुंगो लगाउने गरी तीब्र गतिमा काम गर्न निर्देशन दिए ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले नयाँ बजेटले निर्धारण गरेको ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष हासिल गर्न सबै मन्त्रालयहरुले धेरै नै मेहेनत गर्नुपर्ने बताए ।
अर्थसचिव मधु कुमार मरासिनीले गठबन्धन सरकारको न्यूनतम साझा नीति कार्यक्रमअनुसार आएको बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन मासिक कार्ययोजना बनाएर तत्काल काम थाल्नुपर्नेमा जोड दिए।