
काठमाडौं-
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक डाकेका छन् । अपराह्न ४ बजे सिंहदरबारमा डाकिएको बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश राष्ट्रपति समक्ष फिर्ता पठाउने निर्णय हुन सक्ने स्रोतले जनाएको छ ।


अध्यादेशको विषयमा जनता समाजवादी र नेकपा एकीकृत समाजवादीबीच किचलो हुँदा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।
नेकपा एमाले र जसपा विभाजन सहज हुने गरी संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत पुगेमा दल विभाजन हुनेगरी सरकारले अध्यादेश ल्याएको थियो । त्यसको प्रयोजन सकिएकाले त्यसलाई निष्क्रिय पारेर मन्त्रिपरिषद् विस्तार गर्ने देउवाको तयारी छ ।
अध्यादेश फिर्ता हुनेवित्तिकै देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । आजको बैठकले संसद अधिवेशन अन्त्यको सिफारिस निर्णय पनि लिन सक्ने जनाइएको छ ।
सत्तारूढ दलबीच नै विवाद बढ्दै जाँदा सरकार गठन भएको साढे दुई महिना बितिसक्दा समेत मन्त्रीमण्डलले पूर्णता पाउन सकेको छैन । सत्ता गठबन्धनमा आबद्ध जनता समाजवादी पार्टीले यसअघि सरकारले ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिनुपर्ने सर्त राखेपछि मन्त्रीमण्डल विस्तारमा ढिलाइ हुँदै आएको छ ।
अध्यादेश कायमै रहँदा मन्त्री नपाएर असन्तुष्टहरुले दल फुटाउन सक्ने आशंका शैर्षस्थहरुलाई छ । नेकपा माओवादी केन्द्र र माधव नेपालको नेकपा समाजवादी पनि अध्यादेश फिर्ता वा निस्क्रिय भएपछि मात्र सरकारमा सहभागी हुने मुडमा छन् ।
मन्त्रीमण्डल विस्तार गर्ने विषयमा सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूबीच छलफल पनि सहमतिमा पुग्न सकेन । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूलाई तत्काल मन्त्रीमण्डल विस्तारमा सहयोग गर्न आग्रह गरेका छन् ।
नेकपा एमाले र जसपा विभाजन सहज हुने गरी सरकारले ल्याएको अध्यादेश यथावत रहेको अवस्थामा असन्तुष्टहरुले पार्टी फुटाउन सक्ने आशंका अन्य दलहरुलाई छ भने कांग्रेस सभापतिसमेत रहेका देउवा अध्यादेशको रणनीतिक उपयोगमा लागेको स्रोतको दाबी छ ।
जसपाले भने राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिन आग्रह गरेको थियो । जसपाका नेता महेन्द्र राय यादवले बालुवाटारमा भएको छलफलमा राजनीतिक दलसम्बन्धी अध्यादेशलाई निस्क्रिय बनाउने विषयमा निर्णय गर्न प्रधानमन्त्री देउवालाई आग्रह गरिएको जानकारी दिए।
छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जसपा अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायत उपस्थित रहेको थियो ।
अहिलेसम्म एक राज्यमन्त्रीसहित कांग्रेसबाट चार र माओवादीबाट २ गरी ६ जना मात्रै मन्त्री नियुक्त गरेका देउवाले सत्ता गठबन्धनमा सहमति बन्न नसक्दा बाँकी मन्त्री नियुक्त गरेका छैनन् ।