प्राणघातक निपा भइरसबाट जोगिन यस्ता छन् स्वास्थय विज्ञका सुझाव

काठमाडौं-सरकारले निपा भाइरसको संक्रमणबाट बच्न सावधानी अपनाउन सर्वसाधारणलाई अपील गरेको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले निपा भाइरस प्राणघातक भएको उल्लेख गर्दै त्यसबाट बच्नका लागि सर्तकता अपनाउन आग्रह गरेका हुन् ।



प्रवक्ता पौडेलले निपा भाइरस प्राणघातक भएकाले कसैले पनि हेलचेक्र्याइँ गर्न नहुने बताए । निपा भाइरसको कुनै खोप बनिनसकेकाले यसबाट बच्न सबै सचेत र सतर्क हुनुपर्ने बेला आएको उनको भनाइ छ ।



प्रवक्ता पौडेलले निपा भाइरसको मृत्युदर निकै उच्च रहेको र यो भाइरस फलफूल बढी खाने चमेरो (फ्रुट ब्याट) बाट पशुमा र पशुबाट मानिसमा सर्ने बताए । निपा भाइरस विश्वमा पहिलोपटक सन् १९९९ मा मलेसियाको बंगुर फार्ममा भेटिएको थियो ।
निपा भाइरसले मस्तिष्कमा चाँडो असर गर्ने, कोमामा पुर्याउने र बेहोस बनाउने गरेको बताउँदै उनले पशुपंक्षीले जुठो पारेका, खोपेर छोडेका फलफूलहरु असावधानीवस पनि नखान आग्रह गरे ।
स्वास्थ्य मन्त्रालयले निपा भाइरस प्राणघातक भएकाले पूर्णरुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सजग हुन र यससम्बन्धी लक्षण देखिए तत्काल स्वास्थ्यचौकी गएर चिकित्सकलाई देखाउन आग्रह गरेको छ ।
प्रवक्ता पौडेलका अनुसार श्वासप्रश्वासको समस्या, सामान्य रुघाखोकी, ज्वरो आउने, टाउको दुख्ने, एकदम छिटो अचेत हुने, कोमामा जाने जस्ता समस्या छिटो–छिटो देखापर्ने र कम्पन आउने निपा भाइरसका मुख्य लक्षण हुन् ।