
काठमाडौ- प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । सरकारले प्रतिस्थापन विधेयकबाट बजेट ल्याएपछिको यो पहिलो संसद् बैठक हो । बैठक दिउँसो १ बजे बस्नेछ ।



आजको बैठक पनि सहज ढंगले अघि बढ्न नदिने एमालेले तयारी गरेको छ । आफूहरुको विरोधका बीच शुक्रबार सरकारले प्रतिस्थापन विधेयक ल्याएर एकतर्फी संसद चलाएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले रुष्ट छ ।



सभामुखले पक्षपातपूर्ण व्यवहार गरेको भन्दै एमाले आन्दोलित छ । सभामुख अग्निप्रसाद सापकोटाले एमाले फुटाउन सहयोगी बनेको आरोप उक्त पार्टीका नेताहरुले आरोप लगाउँदै आएका छन् ।



पार्टीबाट कारबाही गरिएका १४ सांसद्को कारबाहीलाई १३ दिनसम्म रोकेका सभामुख सापकोटाले दल विभाजन भइसकेपछि मात्रै निर्णय गरिरहनु नपर्ने भन्दै सूचना सुनाएपछि एमाले रिसाएको छ ।
एमाले फुटेर माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) ले भदौ ९ गते प्रमाणपत्र नै पाएको छ ।