फलामको डण्डी आयातमा बढ्यो कर, मूल्य बढ्छ कि बढ्दैन ?

काठमाडौ- सरकारले फलाम तथा स्टिलबाट बनेका स्पात, लाप्सा डन्डीलगायत वस्तुमा करका दर बढाएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार संसद्मा पेस गरेको अध्यादेशको बजेटलाई प्रतिस्थापन गर्न बनेको विधेयकमार्फत ती वस्तुमा करका दर बढाइएको हो ।


यससँगै अब फलामका डन्डी तथा छडको मूल्य बढ्ने भएकाले समग्र निर्माण क्षेत्रको लागतमा असर पर्ने जानकारहरू बताउँछन् ।नेपालमा प्रशस्त सम्भावना भएर पनि कम मात्र उत्पादन भएका र ठूलो परिमाणमा बाहिरबाट आयात हुने स्टिल र फलामजन्य वस्तुमा कर बढाइएको अर्थसचिव मधु मरासिनीले जानकारी दिए ।
ती वस्तुको आयात निरुत्साहित गर्न स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले करको दर बढाइएको उनको दाबी छ ।
यो निर्णयले केही समय ती सामग्रीको मूल्य बढे पनि अन्ततः स्वदेशी उत्पादन बढ्ने भएकाले अन्ततः राष्ट्रकै हितमा हुने उनको दाबी छ ।
प्रतिस्थापन विधेयकमा फलाम तथा अमिश्रित स्पातका लाप्सा र डन्डी (बार्स एन्ड रौड्स) तापवेलित (हटरोल्ड) हरूको कर बढाएर प्रतिटन २ हजार ५ सय पुर्याइएको छ । यसअघि यस्तो कर प्रतिटन १ हजार ६ सय ५० रुपैयाँ थियो ।