No Image Headlineस्वास्थ्य/जिवनशैली

कोरोना भाइरस : सक्रिय सङ्क्रमित ३० प्रतिशतले घटे

Thrill Factory
Rungta Group

काठमाडौँ– भदौको पहिलो हप्ताको तुलनामा पछिल्ला दिनमा कोरोना भाइरसको सङ्क्रमण घट्दो र निको हुने दर बढ्दै गएको पाइएको छ । तथ्याङ्कअनुसार भदौको ३ गतेको तुलनामा बिहीबार सक्रिय सङ्क्रमितको सङ्ख्यामा करिब ३० प्रतिशतले कमी आएको पाइएको छ ।

भदौको पहिलो हप्ताको तुलनामा सक्रिय सङ्क्रमित उल्लेखनीय रुपमा घट्दै गएको देखिएको छ । भदौ ३ गते सक्रिय सङ्क्रमित ४० हजार ५०० जना थिए भने त्यो सङ्ख्या घटेर बिहीबार २८ हजार ६७८ जनामा आएको छ । यसरी हेर्दा सक्रिया सङ्क्रमितको सङ्ख्यामा करिब ३० प्रतिशतले कमी आएको छ ।

यसैगरी भदौ ३ गते १६ हजार ४३८ जनाको पीसीआर परीक्षण गरेकामा तीन हजार ७५ जनामा सङ्क्रमण पाइएको थियो । त्यसदिन कोरोना भाइरस सङ्क्रमण निको हुने व्यक्तिको सङ्ख्या दुई हजार १२६ जना मात्र थिए ।

यो सङ्ख्यामा बिहीबार गिरावट आएको छ । बिहीबारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क हेर्दा ११ हजार ९४४ जनाको पीसीआर परीक्षणमा एक हजार २७१ जनामात्र सङ्क्रमित पाइएका छन् ।

यता पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला घटेर १६ मा पुगेको छ भने बिहीबार एक हजार ८४५ जना सङ्क्रमणमुक्त भएका छन् ।

बिहीबारसम्म सात लाख ३५ हजार ६ जना सङ्क्रमणमुक्त भएका छन् भने नेपालमा सङ्क्रमणमुक्त हुने दर ९४.९ प्रतिशत पुगेको छ । पछिल्लो समय मुलुकभरि नै सङ्क्रमण घटेको पाइएको चिकित्सकले जनाएका छन् ।

नेपाल सरकारले जोमिखममा रहेका व्यक्तिलाई खोप लगाउने कामलाई प्राथमिकतामा राखेको छ । यसबाट नागरिकमा रोग प्रतिरोधात्मक क्षमता बढ्न गई सङ्क्रमण घटेको चिकित्सकको भनाइ छ । प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप दिने काम सरकारको पहिलो प्राथमिकता रहेको भन्दै यसका लागि आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

त्यसैले धेरै नागरिकले खोप पाएका र जोखिममा रहेका सङ्क्रमित पनि निको भएपछि उनीहरुमा पनि एन्टिबडीसमेत बनिसकेकाले सङ्क्रमण हुने व्यक्तिको सङ्ख्या घट्दै गएको र निको हुने सङ्ख्या बढेको पाइएको हो ।

नेपालमा बिहीबारसम्म ९२ हजार १६९ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ५७ लाख २९ हजार ७८९ जनाले पहिलो मात्रा र ५१ लाख दुई हजार २४४ जनाले पूर्णमात्राको खोप लगाइसकेका मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले पछिल्लो हप्ता सङ्क्रमण दरमा कमी आएको जानकारी दिए । उनका अनुसार परीक्षण गराएकामध्ये सङ्क्रमण हुने दरमा कमी आएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसार त्यहाँ पहिलेभन्दा सङ्क्रमित भएर उपचार गराउन आउने बिरामीको सङ्ख्यामा कमी आएको छ । सो अस्पतालमा सघन उपचार कक्ष एवं अक्सिजन चाहिने बिरामी भर्ना हुन कमै मात्र आएका छन् । धेरैले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेको र रोग प्रतिरोधात्मक क्षमता पनि बढेकाले सङ्क्रमण घटेको चिकित्सकहरुको भनाइ छ ।

यस्तै बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालमा पनि पहिलेको तुलनामा सङ्क्रमित भएर आउने बिरामीको सङ्ख्यामा कमी आएको छ । एक महिनाअघि दैनिक २० जना बिरामी आउने गरेकामा अहिले दैनिक पाँच÷छ जना मात्र बिरामी यहाँ आउने गरेका छन् । नेपालमा हालै गरिएको एक सर्वेक्षणमा ६८.६ प्रतिशत मानिसमा रोग प्रतिरोधात्मक क्षमता (एन्टिबडी) बनेको पाइएको थियो ।

यस्तै एक मात्रा खोप लगाएका व्यक्तिमा ८० प्रतिशतमा र पूर्णमात्रा खोप लगाएकामा ९० प्रतिशतमा एन्टिबडी बनेको मन्त्रालयले जनाएको छ । नेपालमा ५० वर्षभन्दा माथिका प्राय सबैले खोप लगाइसकेका छन् ।

सरकारको तथ्याङ्कअनुसार नेपालमा दैनिक एक लाख जनाले खोप लगाइरहेका छन् । नेपालले कोभ्याक्स सुविधा, अनुदान र खरिद गरेर अहिलेसम्म एक करोड ३३ लाख खोप ल्याइसकेको छ । कोरोना भाइरसको सङ्क्रमण रोक्ने उपायहरुमध्ये भरपर्दो उपाय खोप देखिएकाले नेपाल सरकारले यसमा प्राथमिकता दिएर खोप भित्र्याएको छ ।

जनस्वास्थ्यका मापदण्ड लागू गरेकाले हाल सङ्क्रमण कम भएको तर सभा, सम्मेलन जस्ता गतिविधिले फेरि सङ्क्रमण बढ्नसक्ने खतरा रहेको भन्दै यसका लागि सबैले ध्यान दिनुपर्ने चिकित्सकहरुको सुझाव छ ।

जनस्वास्थ्यविद्हरुले अहिले सङ्क्रमण दर स्थिर अवस्थामा रहेको र प्रायः सबैले खोप लगाइसको र जनस्वास्थ्यका मापदण्ड लागू गरेको हुनाले सङ्क्रमण नबढेको पाइएकोले यो अवस्थालाई निरन्तरता दिनुपर्ने सुझाव दिन्छन् ।सरकारले असोजसम्म कूल जनसङ्ख्याको ३३ प्रतिशत र चैतसम्म सबै नेपालीलाई खोप लगाइसक्ने जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले हालै दिएको जानकारीअनुसार सरकारले १८ वर्षमुनिका बालबालिकाका लागि ४० लाख मात्रा मोडर्ना र ६० लाख मात्रा फाइजर खोप ल्याउने अन्तिम तयारी गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button