
हेटौंडा : बागमती प्रदेशको उपत्यका बाहेकको स्थानीय तहमा एमालेबाट निर्वाचित २ सय ४० जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) रोजेका छन्।



काठमाडौं उपत्यकाका ३ वटा जिल्लाबाहेक १० जिल्लाको स्थानीय तहको २ सय ४० जनप्रतिनिधिले एमालेबाट फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेका हुन्। स्थानीय तहको निर्वाचनमा एमालेबाट जितेका माधवकुमार नेपाल पक्षका जनप्रतिनिधि विभाजनपछि पनि नेता नेपालकै पक्षमा उभिएका छन्।



बागमती प्रदेशको काठमाडौं, भक्तपुर र ललितपुरबाहेक १० जिल्लाका २ सय ४० जनप्रतिनिधिले एमाले त्याग्दै नेता नेपालको दलमा सनाखत गराएको सम्बन्धित जिल्लाको निर्वाचन कार्यालयले जनाएका छन्। दल चयनका लागि स्थानीय तहका जनप्रतिनिधि र प्रदेशसभा सदस्यलाई २१ दिनको समय दिइएको थियो। जुन मंगलबार सकिएको छ।



एमाले त्यागेर नेकपा (एकीकृत समाजवादी) रोज्नेमा सबैभन्दा धेरै धादिङका जनप्रतिनिधि छन् भने रसुवामा दल परिवर्तन गर्ने जनप्रतिनिधि संख्या शून्य छ। धादिङको एक नगरपालिका प्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, १४ जना वडाध्यक्षसहित ८५ जना जनप्रतिनिधिले निर्वाचन कार्यालय धादिङमा एकीकृत समाजवादी रोज्दै सनाखत गरेका छन्। कार्यालयका अनुसार ६ जना जनप्रतिनिधिले सनाखत फिर्ताको माग गर्दै निवेदन दिएका छन्।
काभ्रेका स्थानीय तहका ५६ जना जनप्रतिनिधिले एकीकृत समाजवादी रोजेको निर्वाचन कार्यालय काभ्रेले जानकारी दिएको छ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिनाकुमारी लामा, कैलाश गाउँपालिका अध्यक्ष टंक मोक्तान, इन्द्रसरोवर गाउँपालिका अध्यक्ष जीवन लामासहित ३९ जनाले एकीकृत समाजवादी रोजेको प्रदेश निर्वाचन कार्यालय हेटौंडाले जानकारी दिएको छ।
यस्तै, सिन्धुलीमा २ जना जनप्रतिनिधिले एकीकृत समाजवादी रोज्दै सनाखत गरेका थिए। जसमध्ये एकले सनाखत फिर्ताको माग गर्दै निवेदन दिएका छन्।
दोलखामा मेलुङ गाउँपालिका उपाध्यक्ष र एक वडाध्यक्षसहित वडा सदस्य ५ जना, सिन्धुपाल्चोकमा २ जना वडा सदस्य, नुवाकोटमा ९ जनाले एकीकृत समाजवादी रोज्दै सनाखत गरेको सम्बन्धित निर्वाचन कार्यालयले जानकारी दिएका छन्।
नुवाकोटमा एक जनाले सनाखत फिर्ताका लागि निवेदन दिएको कार्यालयले जनाएको छ। चितवनमा ३६ जना जनप्रतिनिधि, रामेछापका मन्थली नगरपालिका प्रमुखसहित ५ जनाले एकीकृत समाजवादी रोजेको निर्वाचन कार्यालयले जानकारी दिएको छ।