वीरगञ्ज-यस वर्षको उखु क्रसिङ सिजन नजिकिए पनि पर्सा–बाराका किसानले सरकारबाट गत वर्षकै उखुको अनुदान रकम पाएका छैनन् ।
पर्सा र बाराका किसानले सरकारबाट अनुदान बापतको करिब ७ करोड रुपैयाँ नपाएको उखु उत्पादन संघ पर्साका अध्यक्ष असर्फी साहले जानकारी दिए ।
सरकारले चिनी मिलसँग किसानको तथ्यांक लिएर प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान किसानलाई दिन्छ । त्यसैले चिनी मिलले किसानलाई उखु खरिद गरेबापत रकम भुक्तानी गर्दा प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा कम दिन्छन् ।
किसानले त्यति नै रकम सरकारबाट अनुदान पाउँछन् । सरकारले कोष तथा लेखा नियन्त्रण कार्यालयमार्फत किसानलाई यो रकम बर्सेनि वितरण गर्छ । कोष तथा लेखा नियन्त्रक कार्यालयले किसानको बैंक खातामै अनुदान रकम जम्मा गर्छ ।
पर्सा, बाराका किसानले बाराको रिलायन्स सुगर मिल र रौतहटको कटहरियास्थित बाबा बैजुनाथ सुगर एन्ड केमिकल इन्डस्ट्रिज प्रालिलाई उखु बिक्री गर्छन् ।
त्यसमध्ये उखुको ठूलो हिस्सा रिलायन्सलाई नै बिक्री गर्छन् । गत वर्ष सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५ सय ४२ रुपैयाँ निर्धारण गरेको थियो ।
दुवै जिल्लाका किसानको अनुदान रकम कोलेनिका बारामा आउने भएकाले यस सम्बन्धमा आफूलाई कुनै जानकारी नभएको कोष तथा लेखा नियन्त्रण कार्यालय वीरगन्जका सूचना अधिकारी विष्णु सुवेदीले बताए ।