ओलीले स्विच थिचेर शिलान्यास गरेका टुक्रे आयोजना अर्थ मन्त्रालयले रोक्यो

काठमाडौं— पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ चैत २१ गते बालुवाटारमा एकै दिन स्विच थिचेर शिलान्यास गरेका १ सय ६५ वटा सडकको नयाँ ठेक्का गर्न अर्थ मन्त्रालयले रोक लगाएको छ ।
अर्थ मन्त्रालयले विभिन्न मन्त्रालय र सम्बन्धित विभागलाई साउन अन्तिममा पत्र पठाउँदै तयारी नसकिएका सडक आयोजनाको नयाँ दायित्व सिर्जना हुने गरी ठेक्का नगराउन भनेको हो ।


जनार्दन शर्माले अर्थमन्त्रीको जिम्मेवारी सम्हालेसँगै यस्तो निर्णय गरिएको हो । रणनीतिक सडकको लागत मात्र ५७ अर्ब १० करोड रुपैयाँ छ ।
यसअन्तर्गत दुई लेनको २ हजार २ सय १० किलोमिटर कालोपत्र सडक बन्नेछ । यसमा जति पुराना ठेक्का भए गरिए, ती चालु रहनेछन् । चालु आर्थिक वर्षमा ती सडकमा नयाँ ठेक्का भने नहुने सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता शिवप्रसाद नेपालले जानकारी दिए ।
‘अर्थले पत्र पठाएर पूरा नभएका आयोजनाको नयाँ दायित्व सिर्जना नगराउन भनेको हो,’ नेपालले भने, ‘अर्थको चिठीको कपी र हामीले लेखेको चिठी सम्बन्धित आयोजना कार्यालयलाई पठाएर रोक्न भनिसकेका छौं ।’ अघिल्लो सरकारले आर्थिक वर्ष २०७८/७९ को अध्यादेश बजेटमा आयोजनाहरूको नाम छुट्याएको थियो, जुन नाम रातो किताबमा पनि आइसकेको छ ।
कतिपय आयोजनाले नयाँ आर्थिक वर्ष सुरु भएसँगै रातो किताबमा नाम राखिएअनुसार ठेक्काका लागि सूचना निकालिसकेका थिए । अहिले सबै ठेक्का प्रक्रिया रोकिएको सडक विभागले जनाएको छ ।
अर्थले परिवर्तित समयमा आयोजनाहरूको पुनःप्राथमिकीकरण गर्ने भनेर चिठी पठाएअनुसार नयाँ ठेक्का गर्न रोकिएको हो । जसले गर्दा नयाँ ठेक्का गर्न अलमल भएको सम्बन्धित कार्यालयको भनाइ छ ।
विभिन्न पाँच शीर्षकका कार्यक्रममा नयाँ ठेक्का नगर्न भनिएको हो । तराई–मधेस सडक विशेष कार्यक्रम, सडक पूर्वाधार कार्यक्रम, निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रम, काठमाडौं उपत्यका सडक विस्तार र वैकल्पिक सहायक राजमार्गमा ठेक्का नगर्न भनिएको हो । यी कार्यक्रमका लागि चालु आर्थिक वर्षमा करिब १० अर्ब रुपैयाँ बजेट छुट्याइएको छ ।
राष्ट्रिय राजमार्गहरूको भने काम रोकिने छैन । सानातिना सडकको नयाँ काम हाललाई अघि नबढाउन सबैतिर भनिसकिएको छ । एउटा आयोजनालाई न्यूनतम २४ लाख रुपैयाँ मात्र बजेट छुट्याइएको थियो ।