No Image Headlineदेश

कोरोना महामारीको तेस्रो लहर आउने वा नआउने सर्वसाधारणमा निर्भर : स्वास्थ्यविद्

पाँच/ छ महीना अघि खोप लगाएका मानिसको पनि रोग प्रतिरोधात्मक क्षमता घटेकाले तेस्रो लहरसँग सचेत हुनुपर्ने

Thrill Factory
Rungta Group

काठमाडौं – कोरोना भाइरसको सङ्क्रमणको तेस्रो लहर आउने वा नआउने सर्वसाधारणमा निर्भर भएको जनस्वास्थ्यविद्ले बताएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अबको एक महीना अर्थात् असोज दोस्रो हप्ता सङ्क्रमणको तेस्रो लहर आउने चेतावनी दिएको छ । तेस्रो लहर आउने वा नआउने सर्वसाधारणमा निर्भर हुने विज्ञले बताएका छन् ।

निषेधाज्ञा खुकुलो र चाडपर्व शुरु भएसँगै आउजाउ बढेको र जनस्वास्थ्य सुरक्षा मापदण्ड लागू नगर्दा तेस्रो लहरको जोखिम बढेको बताइएको हो ।

अहिले जनस्वाथ्यका मापदण्ड लागू नगर्दा गत साउनदेखि उकालो लागेको कोरोना भाइरस सङ्क्रमण दर अहिले पनि जारी छ । मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले तेस्रो लहर आउने वा नआउने सर्वसाधारणमा निर्भर भएको बताए । उनले सर्वसाधारणले जनस्वास्थ्यका मापदण्ड लागू गरे भने तेस्रो लहर आउने सम्भावना कम रहेको बताए ।

भीडभाडमा हिंड्ने, जनस्वास्थ्यका मापदण्ड लागू नगर्ने हो भने नेपालमा पनि तेस्रो लहर नआउने भन्न नसकिने उनको भनाइ छ । उनले सरकारले मात्र सङ्क्रमण नियन्त्रण गर्न नसकिने भन्दै सर्वसाधारणले पालना गरेको मापदण्डका आधारमा सङ्क्रमण नियन्त्रण गर्न सकिने जानकारी दिए।

गत वर्ष निधेषाज्ञा खुला भएसँगै सर्वसाधारणले जनस्वास्थ्यमा मापदण्ड लागू नगरेकाले गत चैतमा दोस्रो सातादेखि दोस्रो लहरको सङ्क्रमण फैलिएको थियो । दोस्रो लहरमा मुलुकमा धेरै नै मानवीय क्षति भएको थियो । नेपालमा अहिले कोभिड–१९ को डेल्टा भाइरस रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा पौडेलका अनुसार अहिले नेपालमा समुदायस्तरमा सङ्क्रमण फैलिरहेको छ ।  उनले तेस्रो लहरका लागि अहिले मानिसमा बनेको रोग प्रतिरोधात्मक क्षमताले कति काम गर्छ भन्ने अध्ययनका क्रममा रहेको जानकारी दिए । पाँच/ छ महीना अघि खोप लगाएका मानिसको पनि रोग प्रतिरोधात्मक क्षमता घटेकाले तेस्रो लहरसँग सचेत हुनुपर्ने उनले बताए ।

पीसीआर परीक्षण गर्दा अहिले १९ दशमलव ५ प्रतिशतमा सङ्क्रमण देखिएको छ । सङ्क्रमित सबैले परीक्षण नगराउँदा पनि सङ्क्रमणको यकीन तथ्याङ्क बाहिर नआएको मन्त्रालयले बताएको छ । अहिले पनि सामान्य रुघाखोकी, ज्वरो आएका मानिस परीक्षण गराउन नगएकाले घरमै सङ्क्रमित रहेको मन्त्रालयका प्रवक्ता डा पौडेलले जानकारी दिए ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा अनुष बाँस्तोलाले मानिस आफैँ सचेत भएर सङ्क्रमणलाई रोक्नुपर्ने बताए । उनले  दैनिक १० देखि २० जना अस्पतालमा आइसकेको भन्दै खोप लगाएका मानिसबाट पनि सङ्क्रमण सर्नसक्ने भएकाले स्वास्थ्यको मापदण्ड लागू गर्न आग्रह गरेका छन् ।

मन्त्रालयले तेस्रो लहर आउनसक्ने भएकाले सबै स्वास्थ्य सङ्घसंस्थालाई अक्सिजन, शय्यालगायतका पूर्वाधार तयारी अवस्थामा राख्न अनुरोध गरिएको छ । तेस्रो लहरले बालबालिकालाई बढी प्रभाव पार्ने भएकाले उनीहरुका लागि सघन उपचार कक्ष र भेन्टिलेटर तयारी अवस्थामा राख्न निर्देशनसमेत दिएको छ ।

मन्त्रालयले कामै नपरी घर बाहिर निस्किने, अनावश्यकरुपमा जमघट गर्ने जस्ता कार्य गर्दा कोरोना फैलिएर तेस्रो लहर नआउला भन्न सकिन्न । त्यसैले जिम्मेवार नागरिक भई भीडभाड भएको ठाउँमा नजान र घरबाट निस्किँदा सधै सही तरिकाले मास्क लगाउन र एक अर्काबीच कम्तीमा दुई मिटरको दूरी कायम गर्न मन्त्रालयले आग्रह गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button