
काठमाडौं-माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुरले नेतृत्व गरेको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल दर्ताका लागि आवश्यक सदस्यले निर्वाचन आयोगमा सनाखत गरेका छन् ।
पार्टीको वैधानिकता लागि आवश्यक सदस्यले बुधबार निर्वाचन आयोगमा हस्ताक्षर गरेका हुन् । नेकपा (एकीकृत समाजवादी) का लागि ५४ केन्द्रीय सदस्य र २९ सांसदद्वारा हस्ताक्षर गरेको एकिकृत समाजवादीका नेता गंगालाल तुलाधरले बताए ।


अध्यक्ष माधवकुमार नेपालसहित पार्टीका सबै प्रभावशाली नेताहरूले सनाखत हस्ताक्षर गरेको उनको भनाइ छ । ठाकुर नेतृत्वको प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टी नेपालका लागि १७ जना कार्यकारिणी सदस्य र १४ जना संघीय सांसदले सनाखत गरेका छन् ।
जनता समाजवादी पार्टीबाट छुट्टिएर महन्थ पक्षले नयाँ दल दर्ताका लागि निवेदन दिएको थियो । त्यसैको सनाखतका लागि निर्वाचन आयोगले बोलाएको थियो ।
जसपामा ५१ कार्यकारिणी सदस्य थिए । राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार केन्द्रीय कमिटी वा संघीय संसदमा २० प्रतिशतले दल फुटाउन मिल्ने प्रावधान राखिएको छ ।