देश

‘सीसीएमसीको एकल निर्णयले कक्षा १२ का परीक्षार्थी अन्योलमा’

Thrill Factory
Rungta Group

काठमाडौं-प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिका सांसदहरुले हचुवाको भरमा कक्षा १२ को परीक्षा स्थगित गरिएको भन्दै पुन परीक्षा सञ्चालन गर्न सुझाव दिएका छन् ।

सांसदहरुले कक्षा १२ को परीक्षा पटकपटक रोकिँदा विद्यार्थीमा नकारात्मक असर परेको भन्दै स्वास्थ्य मापदण्डको पालना गर्दै परीक्षा सञ्चालन गर्न सरकारलाई अनुरोध गरेका छन् ।

प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबार बसेको बैठकमा समितिका सदस्यले अरु परीक्षा सञ्चालन भइरहेको र बजारमा भीड नरोकिएकाले एउटा कक्षाको मात्रै परीक्षा रोकिन नहुने औँल्याएका छन् ।

समितिका सदस्य मानबहादुर विश्वकर्माले देशभित्रैका विश्वविद्यालयका र अन्तरराष्ट्रिय बोर्डका परीक्षा सञ्चालन भइरहेकाले १२ कक्षाको मात्रै रोकिन नहुनेमा जोड दिए । परीक्षा दिनका लागि जिल्लाबाट काठमाडौँ आएर बसेका विद्यार्थी पटकपटक परीक्षा रोकिँदा निरास भएको उनको भनाइ छ ।

समितिका सदस्य सुरेन्द्रकुमार यादवले इञ्जिनीयरिङ क्याम्पसले विद्यार्थी कलेज नगएर घरघरमा बसेर पढ्दा पनि खेलकूद, भ्रमणलगायतका शीर्षकमा शुल्क लिने गरेकाले त्यसको नियमन हुनुपर्ने बताए । समितिका सदस्य गिरिराजमणि पोखरेलले कोभिड सङ्क्रमण तत्काल हट्ने नदेखिएकाले स्वास्थ्य मापदण्डको पूर्णपालना गर्दै परीक्षा सञ्चालन गर्नुको विकल्प नभएकोमा जोड दिए ।

समितिका सदस्य हितबहादूर तामाङले जनस्वास्थ्यका विषयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय नै जिम्मेवार भएपनि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)का कारण मन्त्रालयले आफ्नो विवेकको प्रयोग गर्न नपाएको बताए ।

समिति सदस्य जीवनराम श्रेष्ठले सिसिएमसीले सरोकार राख्ने निकायसँग सल्लाह नै नगरी परीक्षा रोक्ने निर्णय गर्दा लाखौँ विद्यार्थीको भविष्य अन्यौलमा धकेलिएको औँल्याए ।

समितिका सदस्य सुरेशकुमार राईले सीसीएमसी एकाधिकारबादी भएको भन्दै यसमा सबै मन्त्रालयको मन्त्रीको प्रतिनिधित्व हुने गरी पुनःगठन हुनुपर्नेमा जोड दिए ।

समिति सदस्य नमिता चौधरीले काठमाडौँलगायतका शहरी क्षेत्रमा लोडसेडिङको समस्या र ग्रामीण क्षेत्रमा सबैतिर इन्टरनेटको पहुँच नभएकाले सबै क्षेत्रमा अनलाइन परीक्षा सम्भव नहुने बताइन् । समिति सदस्य एकवाल मियाँले कक्षा १२ को परीक्षा एउटै चरणमा नसके एकभन्दा बढी चरणमा लिन सकिने बताए ।

समितिकी सभापति जयपुरी घर्तीले सबै परीक्षा नियमित हुने र कक्षा १२ को मात्रै स्थगित हुने घटनालाई समितिले गम्भिररुपमा लिएको बताइन् ।

यो परीक्षालाई राज्यले गम्भिररुपमा लिन नसकेको उनले आरोप लगाइन् । सबै किसिमका तयारी पूरा गरेर परीक्षा लिने वातावरण बनाउनुपर्नेमा उनको जोड छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले कक्षा १२ को परीक्षाको सबै तयारी हुँदा परीक्षा स्थगित गर्नुपरेको बताए । भौतिक दूरी कायम गर्दै स्वास्थ्य मापदण्ड पालना हुने गरी परीक्षा लिन लागिएकामा अन्तिम समयमा रोकिँदा विद्यार्थीमा नकारात्मक असर गरेको उनको भनाइ छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले परीक्षाको सबै तयारी बोर्डले गरेपनि सीसीएमसीले अन्तिम घडीमा प्रश्न गरेकाले स्थगित गर्नुपरेको बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button