
कालीकोट- कालीकोटमा सुत्केरी व्यथा लागेर थलिएकी एक महिलाको आज हेलिकोप्टरमार्फत उद्धार गरेर थप उपचारका लागि सुर्खेत लगिएको छ ।
तिलागुफा नगरपालिका–९ की २१ वर्षीया मैनकला शाहीलाई सुत्केरी व्यथा लागेर थलिएपछि थप उपचारका लागि सुर्खेत लगिएको हो ।


शाहीको पहिलो गर्भ रहेको र उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार गर्दा पनि सुत्केरी हुन नसकेपछि थप उपचारका लागि हेलिकप्टरमार्फत सुर्खेत लगिएको स्थानीयवासी कमलबहादुर शाहीले बताए ।
राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार गरिएको कालीकोटका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए । ‘दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धार कार्यविधि’ अनुसार हवाई उद्धार भइरहेको छ ।