No Image Headlineदेश

उल्झनमा ओली : माधवलाई छाडेका नेताहरुले दिए दुई दिनभित्र १० बुँदे कार्यान्वयनको अल्टिमेटम

Thrill Factory
Rungta Group

काठमाडौं-एमाले अध्यक्ष केपी शर्मा ओली थप संकटमा परेका छन् । माधवकुमार नेपालले पार्टी विभाजनका लागि निर्वाचन आयोगमा दल दताको निवेदन दिएसँगै एमालेमै रहेका नेताहरुले १० बुँदे सहमति कार्यान्वयनका लागि अध्यक्ष ओलीलाई दुई दिने अल्टिमेटम दिएका छन् ।

नेपालसँग नयाँ पार्टीमा नगएका नेकपा एमालेका नेताहरुले २ दिनभित्र सहमति कार्यान्वयन नभए विद्रोह गर्ने चेतावनी ओलीलाई दिएका छन् । यो माधव नेपालले नयाँ पार्टी बनाउँदा भन्दा ठूलो क्षति हुने उनीहरुको दाबी छ ।

अध्यक्ष ओली र नेता नेपाललाई दबाब लिँदै संयुक्त वक्तव्य जारी गरेका स्थायी कमिटीका ९ सदस्यले शुक्रबार केन्द्रीय सदस्य र सांसदहरुसँग छलफल गरेका थिए । एक नेताका अनुसार छलफलमा ५७ जना सहभागी भएका थिए ।

बैठकले दुई दिनभित्र १० बुँदे अक्षरशः कार्यान्वयन गर्न पार्टी अध्यक्ष ओलीलाई आग्रह गरेको छ । ‘१० बुँदेसँगै सहायक डकुमेन्टका रुपमा माइन्युट गरिएको छ, त्यसअनुसार तत्काल २ जेठ २०७५ को स्थायी कमिटी बोलाउनुपर्छ,’ एक नेताले भने, ‘स्थायी कमिटीले १० बुँदे अनुमोदन गरेपछि माओवादी केन्द्रबाट आएका र १० प्रतिशत केन्द्रीय सदस्यहरु थप गरेर अर्को बैठक बोलाइयोस् ।’

तल्लो तहका कमिटीहरु र जनवर्गीय संगठनहरु २ जेठ २०७५ मा फर्किंदा हुने समस्या हल गर्न निश्चित समय दिएर कार्यदल गठन गर्नुपर्ने यो समूहको माग छ ।

१० बुँदे अक्षरशः कार्यान्वयनसँगै १४ सांसदमाथि गरिएको कारबाही फिर्ता लिन अध्यक्ष ओलीलाई र नयाँ पार्टी दर्ता प्रक्रिया अघि नबढाउन नेता माधवकुमार नेपाललाई आग्रह गरिएको केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरले जानकारी दिए ।

दुई दिनभित्र अध्यक्ष ओलीले १० बुँदे कार्यान्वयन नगरे विद्रोह गर्ने यो समूहको चेतावनी छ । एक केन्द्रीय सदस्य भन्छन्, ‘अब धेरै अलमल स्वीकार्य छैन । यदि तत्काल सहमति कार्यान्वयन भएन भने एमालेमा विद्रोह गर्छौं ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button