No Image Headlineदेशमुख्य खबर

माधवकुमार नेपालको दाबी-कम्युनिष्ट आन्दोलनलाई विसर्जनबाट जोगाउन विद्रोह गर्नुपर्‍यो

Thrill Factory
Rungta Group

काठमाडौंं-प्रस्तावित एमाले (समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनलाई नै विसर्जनतर्फ धकेलेकाले त्यसलाई रोक्न विद्रोह गर्नुपरेको बताएका छन् ।

बुधबार साँझ अपिल जारी गर्दै नेकपा एमाले पुनर्गठन र रुपान्तरणको सिलसिलामा वैधानिक विद्रोह गरी नयाँ पार्टी जन्माएको उनले बताएका छन् ।

नेपालले विज्ञप्तिमा भनेका छन्, ‘२०७८ साल भदौ १ गते उहाँले पार्टी नेता र सांसदहरुलाई कारवाही गरी गैरकानूनी रुपमा निष्कासन गर्ने तहमा उभिइसकेपछि वाध्य भएर हामीले कठोर फैसला गर्नुपर्ने अवस्था सिर्जना भएको छ । पार्टीको ठूलो पंतिलाई अन्धकार भविष्यतिर धकेल्ने र निराशाको अवस्थामा पुग्न नदिन र नेपाली कम्युनिष्ट आन्दोलनलाई विसर्जन हुनबाट जोगाउनका लागि हामीले कठोर कदम चाल्नुपर्ने स्थिति उत्पन्न भएको छ । नेकपा एमालेको पुनर्गठन एववम् रुपान्तरण गर्दै नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा गर्ने उद्देश्यले विकल्पको बाटो रोज्नुपर्ने वाध्यकारी अवस्था सिर्जना भएको छ ।’

उनले कम्युनिष्ट आन्दोलन तथा लोकतान्त्रिक र राष्ट्रियताको यस महाअभियानलाई सशक्त र प्रभावकारी रूपमा नयाँ उत्साह र संकल्पका साथ अघि बढाउन आ–आफ्नो ठाँउमा खट्नुहुन र सहयोग पुर्‍याउन अपिल गरेका छन् । उनले राष्ट्र र जनताप्रतिको कर्तव्य पालनाबाट विमुख हुन नसक्ने उल्लेख गरेका छन् ।

उनले अपिलमा भनेका छन्, ‘हामी देश, जनता र कम्युनिस्ट आन्दोलनप्रतिको आफ्नो दायित्वबाट पन्छिन सक्तैनौँ । हामी आफ्नो राष्ट्र र जनताप्रतिको कर्तव्य पालनाबाट विमुख हुन पनि सक्तैनौँ । त्यसैले नेपाली कम्युनिस्ट आन्दोलनले स्थापित गरेका देश र जनताप्रतिको सेवाभाव, राष्ट्रिय स्वतन्त्रता र स्वाभिमानप्रतिको दृढ अडान, स्वच्छ संस्कार र क्रान्तिकारी अडान तथा समाजवादी ध्येयप्रतिको अटल विश्वासजस्ता असल मान्यतामा अडिइरहन चाहन्छौँ ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button