गैरकानूनी रुपमा विद्युत् प्राधिकरणबाट हटाएको भन्दै हितेन्द्रदेव शाक्य पुगे सर्वोच्च अदालतमा

काठमाडौं-नेपाल विद्युत् प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफूलाई गैर कानूनी रुपमा कार्यकारी निर्देशक पदबाट हटाएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
उनले सोमवार सर्वोच्च अदालतमा रिट दायर गर्दै कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्ति खारेजीको माग पनि गरेका छन् । उनले आफूलाई गैरकानूनी रुपमा हटाएको दावी गर्दै त्यसलाई बदर गर्न र आफूलाई यथावत राख्न पनि माग गरेका छन् ।


रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, उर्जा मन्त्रालय, उर्जामन्त्री, नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति र कार्यकारी निर्देशक कुलमान घिसिङलाई विपक्षी बनाइएको छ ।
रिटमा शाक्यले अन्यलाई प्राधिकरणमा नियुक्ति गर्दा आफ्नो संविधान सम्मत अधिकार हनन भएको दावी गरेको स्रोतले बताएको छ ।
केहि दिन अघि सरकारले शाक्यलाई सचिव सहरको सुविधा दिएर ऊर्जा आयोगमा चार वर्षका लागि नियुक्त गरेको थियो ।