दृष्टि/संवाददेशमुख्य खबरविशेष

कांग्रेस महाधिवेशन : मिति टुंगियो, टुंगिएन आशंका

Thrill Factory
Rungta Group

काठमाडौं–नेपाली कांग्रेसले आगामी मंसीरमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको छ । तर, तोकिएको मितिमा महाधिवेशन हुनेमा आम नेता कार्यकर्ता ढुक्क भने छैनन् ।

यसअघि पटकपटक महाधिवेशनको मिति धकेलिएकाले यो आशंका अस्वाभाविक पनि होइन । कार्यतालिका सहितको मिति सार्वजनिक हुँदा पनि आम नेता कार्यकर्ता तोकिएको मितिमा महाधिवेशन सम्पन्न हुनेमा ढुक्क हुन सकेका छैनन् ।

पटकपटक मिति तोक्दै सार्दै आएको कांग्रेसले मंसिर ९ देखि १३ गतेसम्म १४ औं महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको हो । कांग्रेसले महाधिवेशनको मिति तोकेको यो छैटौं पटक हो ।

नेपाली कांग्रेसमा नीतिगत रुपमा साढे पाँच वर्षभित्रै अधिवेशन सुरु गर्नेमा नेताहरुबीच सहमति भएपनि क्रियाशील सदस्यता पहिला कि मिति तोकेर सदस्यता टुंगो लगाउने भन्नेमा विवाद कायमै थियो ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष क्रियाशील सदस्यता टुंग्याएपछि मात्रै महाधिवेशन कार्यतालिका ल्याउनुपर्ने अडानमा थियो । भदौ १६ देखि १९ सम्मको निर्धारित कार्यतालिकामा महाधिवेशन हुन नसक्नेमा एकमत नेताहरुबीच कार्यतालिकाका बारेमा पनि विवाद उत्तिकै थियो ।

शनिबार बसेको केन्द्रीय समितिको बैठकले केन्द्रीय महाधिवेशन आगामी मंसीरमा गर्ने निर्णय गरेको हो । महामन्त्री पुर्णबहादुर खड्काका अनुसार भदौ १८ गते वडा अधिवेशन शुरु हुनेछ । ‘भदौको १८ गते वडा अधिवेशन शुरु गरेर मंसीर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय भएको छ’, उनले भने ।

भदौ २ गतेभित्र क्रियाशिल सदस्यहरुको अन्तिम नामावली बुझाउने, भदौ १८ गते वडा अधिवेशन, भदौको २७ गते पालिका अधिवेशन, असोज ५ गते प्रतिनिधिसभा क्षेत्र अधिवेशन, असोज १० गते जिल्ला अधिवेशन, कार्तिक १०, ११ र १२ गते प्रदेश अधिवेशन र मंसीर ९ देखि १३ गते केन्द्रीय महाधिवेशनको नयाँ मिति तय भएको छ ।

कांग्रेसले क्रियाशील सदस्यतामा देखिएको विवाद मिलाउन तीन नेतालाई जिम्मेवारी तोकेको छ । कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल र रमेश लेखकलाई विवाद टुंग्याउने जिम्मेवारी दिइएको छ ।

कांग्रेसको २०७६ फागुन ११ गते बसेको केन्द्रीय समिति बैठकले पार्टीको कार्यकाल एक वर्ष थप गर्दै २०७७ फागुन ७-१० मा महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको थियो । तालिका घोषणा भएको दोस्रो महिनामै कोरोनाका कारण लकडाउन घोषणा भएपछि कांग्रेसको महाधिवेशन कार्यतालिका प्रभावित भएको थियो ।

त्यसपछि २०७६ माघ १३ गतेको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति यथावत् राख्दै तल्लो तहको अधिवेशनको कार्यतालिका परिमार्जन गरेको थियो । दुई पटक तोकिएको कार्यतालिका पनि कोरोनाकै कारण प्रभावित भएपछि २०७७ असार २३ गतेको केन्द्रीय समितिले स्थानीय देखि प्रदेश अविधेशनसम्मको कार्यतालिका संशोधन गरेको थियो भने केन्द्रीय महाधिवेशनको मिति भने २०७७ फागुन ७ देखि १० गतेको कायमै थियो ।

कांग्रेसले २०७७ फागुन ६ गते चौथोपटक कार्यतालिका परिमार्जन गरेको हो । पार्टी विधानले दिएको एक वर्षको समय पनि गुजारेपछि कांग्रेसले संविधानको सुविधा अनुसार थप ६ महिना कार्यकाल थप्दै २०७८ भदौ ७ देखि १० सम्म काठमाडौं महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको थियो ।

पटकपटक मिति तोक्दै सार्दै आएको कांग्रेसले २०७८ असार ४ फेरि महाधिवेशन कार्यतालिका परिमार्जन गरेको थियो । उक्त कार्यतालिकाका अनुसार २०७८ भदौ १६-१९ सम्म केन्द्रीय महाधिवेशन गर्ने उल्लेख थियो । कांग्रेसले संविधानअनुसार निर्धारित कार्यतालिका अनुसार महाधिवेशन गर्न नसक्ने भएपछि शनिबार नयाँ कार्यतालिका सार्वजनिक गरेको हो ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button