आयात प्रतिस्थापन गर्नुको विकल्प छैन : अर्थमन्त्री

काठमाडौं -अर्थमन्त्री जनार्दन शर्माले मुलुकमा आयात प्रतिस्थापन गर्न आवश्यक रहेको बताएका छन् ।



नेपाल उद्योग वाणिज्य संघ काठमाडौंद्वारा शनिवार भर्चुअल रुपमा आयोजित दोस्रो वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले उत्पादन वद्धि गरेर आयात प्रतिस्थापन गर्नुको विकल्प नभएको बताए ।



निर्यातमुखी अर्थतन्त्र निर्माणको लागि उत्पादन वृद्धि गर्नु अपरिहार्य रहेको भन्दै अर्थमन्त्री शर्माले उत्पादन बढाएर व्यापार घाटा कम गर्ने बताएका हुन् ।



अर्थमन्त्री शर्माले कोभिड – १९ संकटको बेला निजी क्षेत्रले राहत महशुस गर्ने गरी सरकारले काम गर्ने बताए । उनले मुलुकलाई आत्मनिर्भर बनाउने अभियानमा लैजान निजी क्षेत्रले के कस्तो नीतिगत सुधार चाहन्छ, त्यसको लागि सरकार तयार रहेको पनि बताए ।
यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मौद्रिक नीतिले कोभिडपछिको पुनरुत्थान तथा साना एवं मझौला उद्यमको विस्तारमा विशेष ध्यान दिएको बताए ।
उनले सरकारको राहत योजना विकसित मुलुकको जस्तो सिधै नगद दिने खालको नभए पनि सुधारमा सहयोगी रहेको बताए।
नेपाल उद्योग बाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले नवगठित सरकारले सम्पूर्ण नागरिकलाई कोभिड १९ विरुद्धको खोप उपलब्ध गराई अर्थतन्त्र जोगाउने संकल्पसहितको नीति लिएकोमा धन्यवाद दिए ।