No Image Headlineप्रदेशमुख्य खबर

वीरगञ्जका विद्यालय आइतबारदेखि खुल्ने, महानगर प्रमुख भन्छन-सिडिओ चौथो सरकार बन्न खोजे

Thrill Factory
Rungta Group

वीरगञ्ज-वीरगञ्ज महानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरु आउने आइतबारदेखि खोल्ने भएको छ । महानगरले कक्षा ८ देखि १२ सम्मको पठनपाठन सुचारु गर्ने निर्णय बुधबार गरेको हो ।

महानगरपालिकामा बुधबार बसेको सरोकारवालाहरुको बैठकमा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर विद्यालय खोल्न सबैजना सहमति भएपछि कक्षा ८ देखि १२ सम्मको पठनपाठन साउन ३१ गते आईतबारदेखि सुचारु गर्ने निर्णय महानगरपालिकाले गरेको नगर प्रमुख विजयकुमार सरावगीले जानकारी दिए ।

महानगरपालिकाले यसअघि गरेको निर्णय ठिक भए पनि जिल्ला संकट व्यावस्थापन केन्द्रले सहमति दिन नसक्दा विद्यालय संचालन गर्न नसकिएको नगर प्रमुख सरावगीले बताए । संघ सरकारको प्रतिनिधिको रुपमा जिल्लामा रहेका प्रमुख जिल्ला अधिकारीले चौथो सरकार सञ्चालन गरेको आरोप सरावगीले लगाए ।

शिक्षा स्थानीय सरकारको क्षेत्राधिकारमा परे पनि संघ सरकार र स्थानीय प्रशासनले हस्तक्षेप गरेको सरावगीले बताए ।

डेढ महीनादेखि विद्यालय खोल्न आग्रह गरे पनि पर्साका प्रमुख जिल्ला अधिकारीको असहयोगका कारण खोल्न नसकिएकाले बाध्य भएर सरोकारका पक्षको भेला राखेर निर्णय लिनु परेको नगरप्रमुखको भनाइ छ ।

वीरगञ्ज कोारोना संक्रमणको जोखिमका दृष्टिले ग्रिन जोनमा परे पनि स्थानीय प्रशासनले विद्यालय खोल्न रोक लगाउनुको औचित्य नभएको उनको भनाइ थियो ।

विद्यालय बन्द हुँदा वीरगञ्जका बालबालिकाको भविष्य अन्योलमा परेकाले प्रमुख जिल्ला अधिकारीले अवरोध गरे आफू आमरण अनसनमा बस्नसमेत तयार रहेको सरावगीले भेलामा बताएका थिए ।वीरगञ्जमा पठनपाठन सुचारु गराउने काममा उनले सरोकारका सबै पक्षको सहयोगको आग्रहसमेत गरे ।

बैठकमा सहभागी सबैले शिक्षाको अधिकार स्थानीय तहको सरकारलाई नै रहेको र कोरोना संक्रमणको जोखिम कायमै रहेपनि अहिले वीरगन्जको अवस्था सामान्य भएकोले स्वासथ्य सुरक्षाको मापदण्ड अपनाएर विद्यालय खोल्न साथ दिने बताएका थिए ।

सरावगीले महानगरपालिकाको तर्फबाट चाल्नुपर्ने सबै कदमहरु समय परिस्थितिअनुसार नै चाल्दै आएको बताउदै यसअघि असार १५ गतेदेखि महानगरपालिका क्षेत्रका सबै सामुदायिक र संस्थागत विद्यालयहरु संचालन गर्ने निर्णय डीसीसीएमसीले नरोकेको भए अहिले वीरगन्जको शैक्षिक क्षेत्र निकै सुधार भईसक्थ्यो भन्ने विचार व्यक्त गरे ।

जिल्ला कोभिड संकट व्यावस्थापन केन्द्रलाई गृहमन्त्रालयको आदेश नभई शैक्षिक क्षेत्र खुला गर्न पाउने अधिकार नभएकोले विद्यालय खोल्ने निर्णयलाई पनि रोक लगाएको बताउदै महानगर प्रमुख सरावगीले आफूले गृहमन्त्री र सचिवसँग समेत भेटेर कुरा गरेपछि अहिले विद्यालय खोल्ने तयारीमा आपूm लागेको जानकारी दिएका थिए ।

महानगरपालिकाले गरेको निर्णयमा वीरगन्जका सबै राजनीतिक दल, संस्थागत विद्यालयहरुको संगठन, सामुदायिक विद्यालयहरुको संगठन तथा सरोकारवाला पक्षहरुले साथ दिने प्रतिवद्धता जाहेर गरेपछि महानगरपालिकाले कक्षा ८ देखि १२ सम्मको पठनपाठन संचालन गर्ने निर्णय गरको महानगर प्रमुख सरावगीले बताए ।

बैठकमा महानगर प्रमुख सरावगीसहित, शिक्षा प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्ण, स्वास्थ्य तथा समाजिक विकास महाशाखा प्रमुख अरुणकुमार महतो, नेकपा एमाले पर्साका अध्यक्ष प्रभु हजरा, नेकपा माओवादी केन्द्रका महानगर अध्यक्ष रहबर अन्सारी, प्याब्सन पर्साका सचिव छेडुप लामा, एन प्याब्सनका अध्यक्ष रामसुन्दर चौधरी, नेपाल शिक्षक महासंघ पर्साका अध्यक्ष तीर्थराज यादव, महानगर अध्यक्ष विनोद मेहेता, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछाने, वीरगन्ज कलेजका अध्यक्ष डाक्टर दिपेन्द्र कुमार चौधरी लगायत विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, नागरिक समाज तथा सञ्चारकर्मीहरुको सहभागिता थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button