No Image Headlineदेशविशेष

जसपामा मन्त्री पदको हानाथाप : तनावमा अध्यक्ष यादव

काठमाडौं -जनता समाजवादी पार्टी (जसपा) का नेताहरुबीच मन्त्री पदको आकांक्षी बढेपछि अध्यक्ष उपेन्द्र यादव तनावमा परेका छन् । पार्टीमा आन्तरिक समीकरण मिलाउन यादवबाहेक अन्य नेताको नेतृत्वमा सरकारमा सहभागी हुने लाइनमा कुरा अघि बढेपछि उनले मन्त्री पद नपाउने सम्भावना बढेर गएको छ ।

मन्त्री पदका लागि जसपाभित्र किचलो बढेको छ । जसपाले ६ मन्त्रालय र ३ राज्यमन्त्री गठबन्धनसँग मागेको स्रोतको भनाइ छ । मन्त्री पद हत्याउन पार्टीका शीर्षस्थ नेताहरुले हानाथाप गरेपछि पार्टी अध्यक्ष यादव दबावमा छन् ।

नेताहरुले पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा नजान दवाब दिइरहेका छन् । अध्यक्ष यादव भने उपप्रधान सहित परराष्ट्र मन्त्रालय लिएर सरकारमा जाने योजनामा छन् । आफ्नो नेतृत्व नभए पार्टी सरकारमा नजाने अध्यक्ष यादवको अडान छ ।

महेन्द्र राय यादव, राजकिशोर यादवमध्ये कुनै एक नेताको नेतृत्वमा पार्टी सरकार जानुपर्ने जसपाका नेताहरुको दबाव छ । ‘उपेन्द्र यादव धेरै पटक सरकारमा जानुभयो । अब नयाँ अनुहारलाई अवसर दिनुपर्छ,’ जसपाका एक नेताले भने । जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई भने सबैलाई मिलाएर पार्टीलाई सरकार जानुपर्ने कित्तामा उभिएका छन् ।

मन्त्री छनोटमा पार्टीभित्र रस्साकस्सी देखिएपछि त्यसको अन्तिम टुंगो लगाउन भदौ १ र २ गते काठमाडौँमा जसपाको कार्यकारणी समितिको बैठक बोलाइएको छ । सत्ता सहयात्री राजनीतिक दलको गठबन्धभित्र मन्त्रालय र मन्त्री संख्या नमिलेका कारण सरकारमा जान ढिला भएको जसपाका नेता इस्तियाक राईको भनाइ छ ।

मन्त्री पदका लागि दर्जन बढी नेताहरु आकांक्षी छन् । जसपाका सांसद महेन्द्र राय यादव, राजकिशोर यादव, इस्तियाक राई, रेणु यादव, राजेन्द्र श्रेष्ठ, मृगेन्द्र सिंह यादव, प्रदीप यादव, नरमाया ढकाल, रानी मण्डल, रेनुका गुरुङ, लिला सिटौला, डा सुरेन्द्र यादव, प्रमोद साह, अमृता अग्रहरी लगायत मन्त्री पदमा आकांक्षी देखिएका छन् ।

सत्ता साझेदार दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा लगायतमा मन्त्री पदका थुप्रै नेताहरु दावेदार हुँदा सबै पार्टीलाई सरकारमा मन्त्री पठाउनु चुनौती नैबनेको छ । जसकारण देउवा सरकारले महिना दिन पुग्न लाग्दा पनि पूर्णता पाएको छैन ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button