प्रतिपक्षीको प्रश्न श्वेतपत्र कि प्रतिशोधपत्र ?

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले संसद्मा पेश गरेको ‘देशको वर्तमान आर्थिक अवस्थाबारे जानकारी’ सम्बन्धी श्वेतपत्रलाई प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूले प्रतिशोध पत्रको संज्ञा दिएका छन् । तथ्यलाई तोडमोड गर्दै अघिल्लो सरकारमाथि प्रतिशोध लिएको उनीहरूको आरोप छ ।



एमाले सांसद खगराज अधिकारीले माओवादी आफू पनि अघिल्लो सरकारमा बसेको विषयलाई बिर्सिएर यथार्थ पत्र नल्याएको टिप्पणी गरे । उनले भने, ‘तथ्यांक तोडमोड गर्दै केपी शर्मा ओली नेतृत्वको सरकारलाई बदनाम गर्न खोजिएको छ । उहाँले आफ्नो पार्टी पनि त्यो सरकारमा थियो भन्ने तथ्य बिर्सिनु भयो जस्तो छ ।’



एमाले सांसद्हरूका अनुसार आफैलाई बदनाम हुनेगरी अनेकौं तथ्य सरकारले ल्याएको छ ।



सत्तारूढ नेपाली कांग्रेसका संसद् राजेन्द्र केसीले अध्यादेश बजेटलाई प्रतिस्थापन विधेयकमार्फत प्रतिस्थापन गर्ने विषय सकारात्मक भएको बताए । अब निर्माण हुने प्रतिस्थापन विधेयकमा अत्यन्त लोकप्रिय कार्यक्रम सांसद पूर्वाधार साझेदारी कार्यक्रमले पनि निरन्तरता पाउनुपर्ने बताए ।