मैलुङ खोलाको आईपीओ बाँडफाँट आज, २० लाख ५० हजारको हात खाली

काठमाण्डौं- मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको प्राथमिक शेयर (आईपीओ) मंगलबार बिहान ९ बजे बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा बाँडफाँड हुने भएको छ ।



क्यापिटका सूचना अधिकारस् सन्दिप कार्कीले आईपीओ बाँडफाँडका लागि प्रिअलटमेन्ट सम्पन्न गरी धितोपत्र बोर्डमा स्वीकृतिका लागि पठाएकोमा बाँडफाँडका लागि अनुमति पाएसँगै भोलि बिहान ९ बजे बाँडफाँड तय भएको बताए ।



कम्पनीले साउन १४ गतेदेखि साउन १९ गतेसम्म ७ करोड ३६ लाख २८ हजार ६ सय रूपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता शेयर जारी गरेको थियो ।



कम्पनीको आईपीओमा २१ लाख १८ हजार ९२५ वटा आवेदन मार्फत २ करोड ८४ लाख ४१ हजार ८ सय ४० कित्ताका लागि माग परेको छ । प्रारम्भिक आवेदनका आधारमा कम्पनीको आईपीओ २० लाख ५० हजार ४५१ जनाले नपाउने देखिन्छ । यद्यपी दोहोरो आवेदन र रितपूर्वक नपरेको आवेदन रद्द गर्दा केही संख्या घट्नसक्छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल ७ लाख ३६ हजार २८६ कित्ता शेयर निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता सामूहिक लगानी कोषलाई छुट्टाएर बाँकी रहेको ६ लाख ८४ हजार ७४६ कित्ताका लागि सर्वसाधारणबाट आवेदन मागिएको थियो ।
धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम हुने बाँडफाँडमा कम्पनीको आईपीओ ६८ हजार ४७४ जनाले गोलाप्रथाबाट १० कित्ताका दरले पाउनेछन् । यसरी बाँडफाँड गरी बाँकी रहने ६ कित्ता शेयर गोलाप्रथाबाट शेयर पाउनेमध्येबाट ६ जनालाई थप १।१ कित्ता गरी ११ कित्ताका दरले बाँडफाँड हुनेछ ।
मैलुङ्ग खोलाले कम्पनीले रसुवा जिल्लाको डाँडाँगाउँमा पाँच मेगावाट क्षमताको मैलुङ खोला आयोजना सञ्चालन गरिरहेको छ । उक्त आयोजनाबाट कम्पनीले २०७१ असारदेखि नै व्यवसायिक आम्दानी गरिरहेको छ ।