अर्थ

वित्त र जलविद्युत् कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

Thrill Factory
Rungta Group

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार नेप्से परिसूचक स्थिर रहेको छ । यस दिन अघिल्लो कारोबार दिनको तुलनामा नेप्से परिसूचक १ दशमलव ५४ अंकले मात्र वृद्धि भई ३ हजार १०९ दशमलव ६६ विन्दुमा पुगेको हो । उता, सेन्सेटिभ इन्डेक्स भने २ दशमलव शून्य ५ अंकले घटेर ५६५ दशमलव ९५ विन्दुमा झरेको छ ।

यस दिन नेप्से परिसूचक शून्य दशमलव शून्य ५ प्रतिशत र सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ३५ प्रतिशत घटेको हो ।सोमवार जलविद्युत् र वित्त समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । यस दिन यी दुबै समूहको परिसूचक एउटै अनुपातमा ३ दशमलव ३६ प्रतिशतले वृद्धि भएको हो ।

जलविद्युत् र वित्त समूहसँगै यस दिन निर्जीवन बीमा समूहको शून्य दशमलव २७ प्रतिशत, अन्यको शून्य दशमलव ४ प्रतिशत र जीवन बीमा समूहको शून्य दशमलव २७ प्रतिशत परिसूचक बढेको छ ।

यस दिन व्यापारिक समूहको १ दशमलव शून्य ७ प्रतिशत, होटल्स तथा पर्यटनको १ दशमलव शून्य १ प्रतिशत, विकास बैंकको १ दशमलव शून्य ४ प्रतिशत, बैंकिङ्गको शून्य दशमलव ५७ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ८३ प्रतिशत, लघुवित्तको शून्य दशमलव ९७ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव ३७ प्रतिशत र लगानी समूहको शून्य दशमलव ५६ प्रतिशत परिसूचक घटेको छ ।

समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचकसँगै अन्य समूहगत परिसूचकहरुमा उतारचढाव देखिएपनि यस दिन कारोबार रकमको उच्चता भने कायमै रहेको छ । यस दिन रू. १४ अर्ब १३ करोड ७३ लाख ३८ हजार बराबरको २ करोड ५३ लाख ९३ हजार ६९९ कित्ता शेयर कारोबार भएको छ । २२४ ओटा कम्पनीको १ लाख २८ हजार ९५९ पटकको व्यापारमा उक्त रकम बराबरको शेयर कारोबार भएको हो ।

यस दिन सर्वाधिक रकमको शेयर कारोबार अरुणभ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको भएको छ । उक्त कम्पनीको रू. ६७ करोड ४८ लाख ५५ हजार बराबरको १० लाख ८० हजार २२४ कित्ता शेयर कारोबार भएको छ ।

सर्वाधिक रकमको कारोबार भएको उक्त कम्पनीको शेयरमूल्य पनि ४ दशमलव ४९ प्रतिशत अर्थात प्रतिकित्ता रू. २७ ले बढेर अन्तिम मूल्य रू. ६२८ पुगेको छ । प्रतिकित्ता रू. ६१३ मा खुला भएको अरुणभ्याली हाइड्रोपावरको शेयरमूल्य न्यूनतम रू. ६०३ देखि अधिकतम रू. ६४० सम्म पुगेको थियो ।

सोमवार सर्वाधिक रकमको कारोबार गर्ने १० ओटा कम्पनीभित्र अधिकांश जलविद्युत् कम्पनीहरु रहेका छन् । धितोपत्र दोस्रो बजारमा पछिल्लो समय सस्तो मूल्य भएका कम्पनीहरुको शेयर खरीदमा लगानीकर्ताहरुको आकर्षण उच्च देखिएको छ । कम पूँजी भएका र सस्तो मूल्य भएका कम्पनीहरुको शेयर खरीदमानै उच्च माग देखिएको हो ।

जलविद्युत् कम्पनीहरुमध्ये सबैभन्दा कम मूल्य भएको नेशनल हाइड्रोपावरको शेयर खरीद चाप सोमवार सर्वाधिक रहेको थियो । उक्त कम्पनीको १० लाख ४१ हजार ३१६ कित्ता शेयर खरीदविक्री भएको छ ।

सर्वाधिक खरीद चापका कारण नेशनल हाइड्रोपावरको शेयरमूल्य ८ दशमलव २७ प्रतिशत अर्थात् प्रतिकित्ता रू. ३२ ले बढेर अन्तिम मूल्य रू. ४१९ कायम भएको छ । यस दिन नेशनल हाइड्रोपावरको शेयरमूल्य न्यूनतम रू. ३८५ देखि अधिकतम रू. ४२५ दशमलव ५० सम्म पुगेको थियो ।

बजार स्थिर रहँदा नौ ओटा कम्पनीको शेयरमूल्य भने सर्किट लेभलमा वृद्धि भएको छ । यूनियन हाइड्रोपावर, नेपाल हाइड्रो डेभलोपर्स, कर्पोरेट डेभलपमेण्ट बैंक लिमिटेड, आइसीएफसी फाइनान्स र जिवन विकास लघुवित्तको शेयरमूल्य यस दिन १० प्रतिशतले वृद्धि भएको छ भने ङादी ग्रुप पावरको ९ दशमलव ९९ प्रतिशत, यूनियन लाइफ इन्स्योरेन्सको ९ दशमलव ९८ प्रतिशत, हिमालयन पावर पार्टनरको ९ दशमलव ८७ प्रतिशत र युनाइटेड मोदी हाइड्रोपावरको ९ दशमलव शून्य ४ प्रतिशतले मूल्य वृद्धि भएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button