
विधानतः प्रत्येक चार वर्षमा हुनुपर्ने नेपाली कांग्रेसको महाधिवेशन साढे पाँच वर्षको समयावधिभित्र पनि हुन नसक्नु नेतृत्वको अक्षमता हो। लोकतान्त्रिक लिगेसी बोकेको कांग्रेसको महाधिवेशनको मिति तय भएर पनि पटकपटक पछाडि धकेलिनुले नेतृत्वको चरम लापरवाहीसँगै असफलता पनि प्रदर्शित भएको छ ।
लोकतान्त्रिक मूल्यमान्यता बोकेको एउटा जीवन्त पार्टीमा महाधिवेशन निर्धारित समयमा हुनुले नेतृत्व विकास एवं पार्टीमा ऊर्जा दिन्छ। त्यसमा पनि स्वस्थ्य प्रतिस्पर्धाबाट नेतृत्वको छनौट लोकतन्त्रको सुन्दर पक्ष हो। त्यसैले त अद्यावधिक निर्वाचन को व्यवस्था संविधान र विधान मा अनिवार्य गरिएको हुन्छ।


काबुभन्दा बाहिरको परिस्थितिका लागि समयावधि थप गर्न पाउने वैधानिक व्यवस्थालाई टेकेर नेतृत्वको आयु लम्ब्याउन खोज्ने प्रवृत्तिलाई पद्धति बनाउदै जाँदा गलत नजीर स्थापित हुन्छ। त्यस्तो प्रवृत्तिले न त लोकतन्त्र सुदृढ हुन्छ न त पार्टी सङ्गठन नै।
त्यसमा पनि कांग्रेसजस्तो ऐतिहासिक लोकतान्त्रिक पार्टीले विधिविधानको मर्मलाई पालन नगर्ने हो भने सुसंस्कृत राजनीतिको शिक्षा अरू कुन पार्टीबाट आशा गर्न सकिन्छ र ? सक्षम, सुदृढ एवं सबल कांग्रेसको लागि गतिशील नेतृत्व चाहिन्छ।
महाधिवेशनको मुखमा क्रियाशील सदस्यताको विवाद विधानतः नहुनु पर्ने हो । तर, हरेक पटक उही पुरानो रोग दोहरिएको हुन्छ । यसप्रति नेतृत्वको उदासीनता र इच्छाशक्तिको कमी देखिन्छ। यसप्रति नेतृत्व गम्भीर बनोस् र अब निर्धारित हुने मितिमा दृढताका साथ महाधिवेशन सम्पन्न गरियोस्। यो कांग्रेस र लोकतन्त्रप्रति चिन्तनशील प्रत्येकका लागि चिन्ता र सरोकारको विषय बनेको छ ।
उपाध्याय नेपाली कांग्रेस पर्साका उपसभापति एवम् महासमिति सदस्य हुन् ।