No Image Headlineदेशमुख्य खबर

प्रधानमन्त्रीलाई सत्ताकै सकस : एक महीना बित्न लाग्यो, भएन मन्त्रिपरिषद् विस्तार

Thrill Factory
Rungta Group

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले आफू नियुक्त भएको करीब १ महीना समय बितिसक्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् ।

सरकारको न्यूनतम साझा कार्यक्रमपछि मन्त्रिपरिषद विस्तार गरिने बताइएपछि नेकपा एमालेको माधव नेपाल समूह सरकारका आउने नआउने टुंगो नलागाले विस्तार अलमलमा परेको हो ।

सरकार सञ्चालनमा सहयोगका लागि गठन भएको कार्यदलको बैठक आज पनि बस्दैछ । सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन बैठक बस्त लागेको हो

मंगलबार बिहान र बेलुकी दुई पटकसम्म कार्यदलको बैठक बसे पनि अन्तिम टुंगो लगाउन भने सकेको थिएन । कांग्रेस, माओवादी र जसपाका नेताहरु सम्मिलित कार्यदलले मन्त्रिपरिषदलाई पूर्णता, मन्त्री छनोट गर्ने मापदण्ड, संवैधानिक तथा राजनीतिक नियुक्ति सम्बन्धी कार्यविधि लगायतका विषयलाई समेटेर न्यूनतम साझा कार्यक्रमको खाका तयार पारेको छ ।

कार्यदलले अन्तिम प्रतिवेदन शीर्ष नेताहरुलाई बुझाएपछि मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी नेताहरुको छ । सत्ता गठबन्धनका नेताहरुले सरकारलाई सघाउने उद्देश्यले नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा कार्यदल गठन गरेका छन् ।

कार्यदलमा कांग्रेसको तर्फबाट खड्कासँगै मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ तथा जसपाबाट राजेन्द्र श्रेष्ठ लगायतका नेताहरु छन् । सरकारलाई सघाउन गठित कार्यदलले सत्ता गठबन्धन चुनावसम्म लैजाने गरि काम गर्न सिफारिस गरेको छ। र, यसका लागि माधव नेपाल समूहलाई सरकारमा ल्याउँदा सहज हुने निष्कर्षका साथ सो समूहलाई पखिइएको कार्यदलका एक सदस्यले बताए ।

एमालेको नेपाल पक्ष र जसपालाई सहभागी गराएर मात्रै मन्त्रिमण्डल विस्तार गरिने पक्षमा सत्ता गठबन्धन पुगेको छ । प्रतिनिधिसभाको बाँकी पुरै आयु जोगाउने उपाय पनि कार्यदलले अघि सारेको छ।

सत्ता र संसद जोगाउनका लागि एमालेको माधव नेपाल समूह र जसपा जतिसक्दो छिटो सरकारमा आउने वातावरण बनाउनुपर्ने सुझाव कार्यदलले दिएको थियो।

नेपाल समूह र जसपाको उपेन्द्र यादव समूह आएपछि मात्रै मन्त्रिमण्डल विस्तार गर्नुपर्ने र संयुक्त सरकारलाई बलियो बनाउन नेतृत्वकर्ताको हिसाबले कांग्रेस र माओवादी नै सक्रिय हुनुपर्ने सुझाव कार्यदलले दिएको छ। ​

गठबन्धनमा मन्त्रीका आकांक्षी बढी भएपछि समस्या भएको छ । सिमित कोटा र मन्त्री बन्न चाहनेको असिमित संख्या भएकै कारण दुबै पार्टीले मन्त्री छान्न नसक्दा देउवा सरकारको मन्त्रीपरिषद् महिना दिन पुग्नै लाग्दा पनि पाँच सदस्यीय मात्रै छ।

एमालेको माधव नेपाल समूह र जसपाका कारणमात्र होइन स्वयम् कांग्रेस र माओवादीभित्र पनि नयाँ मन्त्री छान्न महाभारत भइरहेको छ।

यतिसम्म कि, प्रधानमन्त्रीले विश्वासको मत लिँदा गरेको बाचा पनि पूरा गर्न नसक्ने अवस्था देखिएको छ । विश्वासको मत लिँदा मन्त्री बनाउने आश्वासन पाएका ओली पक्षीय एमाले सांसदहरुले प्रधानमन्त्रीसमक्ष मन्त्री बनाइदिन आग्रह गरिरहेका छन् । प्रधानमन्त्री देउवाले ती सांसदहरुलाई माधव जीले भन्नु पर्छ भन्दै फर्काउन थालेका छन् ।

अझै केही दिन मन्त्रीमण्डलले पूर्णता पाउने देखिन्न। कार्यदल स्तरबाट मन्त्रीहरुको सिफारिस गर्न नसकिने भन्दै यसको जिम्मा भने शीर्ष नेताहरूलाई नै दिएको कार्यदलका अर्का एक सदस्यले बताए।

उनले मन्त्रीहरुको मापदण्डबारे कार्यदल बोल्न सक्ने भएता पनि कसलाई मन्त्री बनाउने भन्ने विषय जटिल भएकाले त्यसमा पार्टीका अध्यक्षहरुले नै निर्णय गर्नुपर्ने निष्कर्ष निकालेको ती सदस्यले बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button