No Image Headlineप्रदेश

सिन्धुपाल्चोकमा फेरि बाढीको ताण्डव

काठमाडौं- सिन्धुपाल्चोकको रातो पुल बाढीले बगाएको छ । बाढीले आइतबार बिहान पुल पनि बगाएको हो । गत असार १ गते आएको बाढीमा यो पुल जोगिएको थियो ।

गएरातिको बाढीले नौ वटा पक्की घर, आठ वटा कच्ची घर, एउटा झोलुंगे पुल र एउटा पक्की पुल बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।

झोलुङ्गे पुलले हेलम्बुको तीन र चार नम्बर वडालाई जोड्दथ्यो । यसैगरी पक्की पुलले हेलम्बु र मेलम्चीलाई जोड्दथ्यो । यो पुल पनि बगेपछि हेलम्बुसँगको सडक सम्पर्क विच्छेद भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार बाढीले रेडियो मेलम्चीको भवन बगाएको छ । असार १ गतेको बाढीमा रेडियो मेलम्चीको भवन डुबानमा परेको थियो । मेलम्चीमा गएरातिदेखि नै फेरि लेदो माटोसहितको बाढी आएको छ । मानवीय क्षति भने भएको छैन ।

हेलम्बु गाउँपालिका–१ हेमाथांका चौरमा पहिरो गएर केहीबेर थुनिएपछि ठूलो बाढी आएको अनुमान गरिएको छ । चनौटे बजारको बीच भागबाटै बाढी बगेको छ । बाढी अहिले पनि नघटेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

यसअघि असार १ गते आएको बाढीले पनि हेलम्बु र मेलम्ची लगायतमा ठूलो क्षति पुर्याएको थियो । सो बाढीका कारण ५ जनाको मृत्यु भएको थियो भने १५ जना अझै बेपत्ता छन् ।

 

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button