No Image Headlineदेश

बढ्न थाल्यो कोरोना कहर : कतै अस्पतालमा संक्रमितको चाप, कतै फेरि निषेधाज्ञा

Thrill Factory
Rungta Group

काठमाडौं- केही दिनयता कोरोना संक्रमण ह्वात्तै बढेको छ । निषेधाज्ञा खुकुलो भएपछि स्वास्थ्य सतर्कताका मापदण्डको पालनामा लापरवाही हुँदा संक्रमण र मृत्यु हुने क्रम बढेको हो ।

उदयपुरको त्रियुगा नगरपालिका–२ खैजनपुरगाउँमा कोरोना सङ्क्रमणबाट एकै परिवारको तीन जनाको मृत्यु भएको छ ।

वडाध्यक्ष घमानसिंह खत्रीका अनुसार कोरोना सङ्क्रमणबाट पन्ध्र दिनअघि ४३ वर्षीय रमण पोखरेल, सात दिनअघि ३८ वर्षीय हेमराज पोखेरल र शुक्रबार राति ३६ वर्षीय देवी पोखरेलको मृत्यु भएको हो ।

सङ्क्रमण तीव्र बनेपछि शनिबार राति गाउँ सिल गरिएको छ ।

यता चितवनका अस्पतालहरुमा कोरोना सङ्क्रमणका बिरामीको चाप बढेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा अस्पतालमा उपचार गर्न आउनेको सङ्ख्या पनि बढेको हो ।

भारतपुर अस्पतालमा कोभिड सङ्क्रमितको उपचारका लागि छुट्याइएको शय्या भरिएका छन् ।

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार अहिले अस्पतालमा १०४ सङ्क्रमित छन् । अस्पतालमा ५८ जना सामान्य तथा मध्यम लक्षण भएका बिरामी रहेको उनले बताए ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. कृष्णप्रसाद पौडेलले पछिल्लो समय स्वास्थ्य मापदण्ड पालनामा हेलचेक्र्याइँ गर्दा सङ्क्रमित बढ्दै गएको बताए । चितवन मेडिकल कलेजमा ५८ जनाको उपचार भइरहेको छ ।

उता कोभिड–१९ को सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि झापामा फेरि निषेधाज्ञा जारी भएको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आइतबारदेखि सात दिनसम्म जिल्लामा निषेधाज्ञा जारी गरिएको जनाए । सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन पनि उनले आग्रह गरेका छन् ।

झापाका १५ पालिकामध्ये १० वटा पालिका यसअघि नै स्थानीयस्तरमा सिल गरिएका थिए ।

काँकडभिट्टाबाट प्रवेश गर्ने नेपाली नागरिकको अभिलेख राखिने, नाकामै एन्टिजेन विधिबाट कोरोना परीक्षणको व्यवस्था मिलाउने, कोरोना पोजेटिभ देखिएमा नजिकको आइसोलेशन केन्द्र वा मेची अस्पतालमा लगेर उपचार गराउने, नेगेटिभ देखिएमा आवश्यक समन्वय गरी निजको गन्तव्यमा पठाउने व्यवस्था मिलाइने प्रजिअ तिम्सिनाले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button