महाकालीमा भारतीय एसएसबीको ज्यादती : सरकारले बनायो छानविन समिति

काठमाडौं- भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको डोरी निकालिदिँदा एक नेपाली नागरिक नदीमा खसेको घटनाबारे छानविन गर्न सरकारले छानविन समिति बनाएको छ ।
गृहमन्त्री बालकृष्ण खाँणले गृहसचिवको नेतृत्वमा छानबिन समिति गठन गठन गरेका हुन् । समितिमा गृह मन्त्रालयका प्रवक्ता, नेपाल प्रहरीका सुदूरपश्चिम प्रहरी प्रमुख डीआईजी र दार्चुलाको सहायक प्रमुख जिल्ला अधिकारी सदस्य रहेका मन्त्रालयले बताएको छ ।


गृहमन्त्री खाँणले जतिसक्दो छिटो सत्यतथ्य छानबिन गरेर प्रतिवेदन पेश गर्न निर्देशन दिएका छन् । शुक्रबार दार्चुलाको ब्यास गाउँपालिका–२ स्थित मालघाटमा तुइनबाट नदी तर्ने क्रममा एसएसबीले फलामे डोरी निकालिदिँदा महाकाली नदीमा खसेर ३० वर्षीय जयसिंह धामी बेपत्ता भएका छन् ।
नदी पार नहुँदै एसएसबीले तुइनको फलामे डोरी निकालिदिंदा धामी नदीमा खसेका थिए । प्रत्यक्षदर्शीहरुले बताएअनुसार तुइनबाट महाकाली नदी पार गरिरहेका धामी नदीको छेउमा नपुर्ग्दै एसएसबीले फलामे डोरी निकालिदिएका थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्र चन्दले एसएबसीले डोरी निकालेपछि धामी नदीमा खसेको बताए । धामीका परिवारले जिल्ला प्रशासन कार्यालय दार्चुलामा ज्ञापनपत्र बुर्झाउँदै घटनामा भारतीय एसएबसीको संलग्नताबारे छानबिन गर्न माग गरेको छ ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय पक्षलाई पत्र पठाउँदै छानबिन गरेर सहयोग गरिदिन आग्रह गरेको छ । भारतबा तर्फबाट यसबारेमा प्रतिक्रिया नआएको प्रशासनले बताएको छ ।