झापामा कोरोना सङ्क्रमणबाट ५ जनाको मृत्यु, १० स्थानीय तहमा निषेधाज्ञा

झापा-झापामा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट १०१ वर्षीय वृद्धसहित पाँच व्यक्तिको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तीन महिला र दुई पुरुष छन् । मृत्यु हुनेमा कमल गाउँपालिकाका १०१ वर्षीय वृद्धसहित सोही पालिकाका ८१ वर्षीय वृद्ध, भद्रपुरका ७० वर्षीय वृद्ध, दमककी ६२ वर्षीया महिला र बुद्धशान्तिकी ५९ वर्षीया महिलाको पनि मृत्यु भएको जिल्लास्थित स्वास्थ्य कार्यालयले जनाएको छ ।


यससँगै झापामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४४२ पुगेको छ । यसअघि मङ्गलबार झापामा चार जनाको मृत्यु भएको थियो ।
कोरोनाको संक्रमण बढ्दै गएपछि झापामा निषेधाज्ञा लागु गर्ने स्थानीय तहको संख्या पनि बढ्दै गएको छ । प्रशासनले जारी गरेको निषेधाज्ञा क्रमशः खुकुलो हुँदा जिल्लामा मानिसको चहल पहल बढेको थियो । जिल्लामा संक्रमण पनि बढ्न थालेपछि स्थानीय तहले आआफ्नो क्षेत्रमा निषेधाज्ञा लगाउन थालेका हुन् ।
१५ स्थानीय तह मध्ये झापाका १० स्थानीय तहमा निषेधाज्ञा लगाइ सकिएको छ । पूर्वोत्तर झापाको बुद्धशान्ति गाउँपालिकाबाट शुरु भएको निषेधाज्ञा लगाउने क्रम पश्चिमी भागको कमल गाउँपालिकासम्म आइपुगेको छ । यस्तै मेचीनगर, हल्दिबारी, कन्काई, दमक, गौरादह, शिवसताक्षी, अर्जुनधारा र विर्तामोडमा पनि निषेधाज्ञा लगाइएको छ ।
संक्रमणको स्थानीय अवस्थाका आधारमा स्थानीय तहले निषेधाज्ञा लगाएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाका अनुसार डीसीसीएमसीको समन्वयमा स्थानीय तहहरुले क्रमिक रुपमा निषेधाज्ञा गर्न थालेका हुन् ।