फेरि बढ्न थाल्यो कोरोना संक्रमण, स्वास्थ्य सतर्कतामा लापरवाहीले जोखिम उच्च
काठमाडौं-निषेधाज्ञा खुकुलो पारिएसँगै स्वास्थ्य सतर्कतामा लापरवाहीका कारण कोरोना महामारीको तेस्रो लहरको जोखिम बढेको छ ।
पछिल्लो एक सातामा संक्रमणदर २४.२ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले विगतभन्दा संक्रमणदर बढ्दै गएको बताए। साउन ५ गते संक्रमणदर २०.७ प्रतिशत मात्र थियो।
दैनिक ४ हजार हाराहारीमा संक्रमण पुष्टि हुने गरेको छ। मुलुकभर सक्रिय संक्रमितको संख्या २९ हजार ४ सय ४४ छ। होम आइसोलेसनमा २६ हजार ६ सय ५२ जना छन्।
संस्थागत आइसोलेसनमा २ हजार ७ सय ९२ जना उपचाररत छन्। अस्पताल र आइसोलेसन सेन्टरमा उपचाररतमध्ये ६ सय ११ जना सघन उपचार कक्ष ९आईसीयू०मा छन् भने १ सय ६८ जना भेन्टिलेटरमा। क्वारेन्टाइनमा ३ सय ४९ जना रहेको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी १५ हजार ८ सय ८ परीक्षण गर्दा ३ हजार ८ सय ४० जनामा संक्रमण पुष्टि भएको छ। यो अवधिमा डिस्चार्ज हुनेको संख्या १ हजार ९ सय ९३ छ। संक्रमितमध्ये ३३ जनाको निधन भएको छ।
सरकारले यससँगै १७ जिल्लालाई अति उच्च जोखिम क्षेत्रमा राखेको छ। जसमा झापा, सिरहा, धनुषा, महोत्तरी, रौतहट, कपिलवस्तु, अर्घाखाँची, पाल्पा र गुल्मी रहेका छन् ।
प्युठान, कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी, डोटी, अछाम र बाजुरा पनि जोखिममा परेका छन् । यस्तै उच्च जोखिम क्षेत्रमा मोरङ, सप्तरी, सर्लाही, पर्सा, सिन्धुपाल्चोक, धादिङ, गोरखा, तनहुँ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कास्की, स्याङजा, दाङ, रोल्पा, सल्यान, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कालिकोट र बझाङ छन्।