
काठमाडौं- नेकपा एमालेका नेता माधवकुमार नेपालनिकट सांसदहरुले वर्तमान सरकारमा सहभागी हुनुपर्नेमा जोड दिएका छन् ।
बुधबार बुद्धनगरस्थित सहाना प्रधान स्मृति प्रतिष्ठानको भवनमा भएको छलफलमा उपस्थित अधिकांश सांसदले सरकारमा सहभागी हुनुपर्ने मत राखेका हुन् ।


आफ्नो भनाइ राखेर छलफलबाट बाहिरिएका सांसद मेटमणि चौधरीले आफूहरुको एकै स्वर रहेको बताए । “सबैजनाले सरकारमा सहभागी हुनुपर्छ भन्नुभएको छ । हामी सबै एक छौँ । उहाँ (नेपाल)ले पनि सरकारमा सहभागी नहुने भनेर अहिलेसम्म भन्नुभएको छैन,” उनले भने ।
आफूहरु सरकारमा सहभागी नहुने पक्षमा भनेर बाहिर आएको कुरा गलत रहेको उनको भनाइ छ । छलफलमा नेता नेपालसहित १९ सांसद उपस्थित थिए ।
प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको पक्षमा मतदान गरेका एमाले सांसदले छलफल गरेका हुन् । देउवाको पक्षमा नेपालनिकट २२ सांसदले मत हालेका थिए ।