No Image Headlineखबर फटाफटप्रदेश

प्रदेश १ मा फेरि बढ्यो कोरोना संक्रमण, लकडाउनमा जान थाले स्थानीय तह

Thrill Factory
Rungta Group

झापा- कोरोना संक्रमण फैलिएपछि झापाका स्थानीय तहहरुले लकडाउन अपनाउन थालेका छन् ।

उर्लाबारी नगरपालिकाको विपद् व्यवस्थापन केन्द्रको बैठकले कोरोनाको ‘चेन ब्रेक’ गर्न बुधबार बिहानबाट लागु हुने गरी औषधि, दूध डेरी, कलेजका परीक्षा र खानेपानी सेवाबाहेक अरु सबै सेवा तथा व्यवसायहरु बन्द गर्ने निर्णय गरेको छ ।

मेयर खड्ग फागोले कडा नियमसहितको लकडाउनमा नगए थप जोखिम हुने देखिएकोले यस्तो निर्णय गरिएको बताए । “संक्रमणको जोखिम थप बढेकोले एक सातासम्म संक्रमणको फैलावट रोक्न यस्तो निर्णय गरिएको हो,” उनले भने ।

दमक नगरपालिका सातदिने पूर्ण ‘लकडाउन’मा छ । जिल्लामै धेरै संक्रमित फेला पर्न थालेपछि नगरपालिकाले कडा लकडाउनमा जाने निर्णय गरेको मेयर रोमनाथ ओली बताउँछन् ।

दमकमा दोस्रो लहरमा संक्रमित बढेपछि स्थानीय अस्पतालका बेड भरिएका छन् ।

झापाको शिवसताक्षी नगरपालिकाले पनि संक्रमणको चेन तोड्न एक सातासम्मको लागि लकडाउनमा जाने निर्णय गरेको छ ।

मोरङको उर्लाबारी नगरपालिकाले पनि व्यवसाय तथा बजार बन्द गराई कडाइका साथ लकडाउनमा जाने निर्णय गरेको छ । मंगलबारदेखि साउन १९ गते रातिसम्म नगरका सम्पूर्ण सेवा तथा व्यवसाय बन्द गर्ने निर्णय भएको नगरपालिका कार्यालयले जनाएको छ ।

प्रदेश राजधानी विराटनगरमा संक्रमणदर घटे पनि प्रशासन र महानगरपालिकाले साँझ ८ बजेसम्म खोल्न दिएको बजार तथा पसलको अवधि घटाएर साँझ ६ बजे गरेको छ । महानगरका मेयर भीम पराजुली भन्छन्, “यहाँ संक्रमित थपिने क्रम घटे पनि हामीले धेरै जोखिम नलिन दुई घण्टाअघि नै बजार बन्द गराउने निर्णय गरेका हौँ ।”

सुनसरीको धरान उपमहानगरपालिकामा संक्रमित थपिने र मृत्युसमेत बढ्न थालेसँगै उपमहानगरले बजारमा कडाइ गर्न थालेको छ । उपमहानगरका प्रतिनिधि र सुरक्षाकर्मीले संयुक्त रुपमा बजार अनुमन गरी मास्क नलगाउनेलाई कारबाही गर्न थालेका हुन् । मास्क नलगाउनेलाई कार्यस्थलमै गई मास्क वितरण गर्ने र ‘एन्टिजेन टेस्ट’ गर्न थालिएको छ ।

मेयर तिलक राईले भने, “खोप अभियानसमेत सञ्चालन भइरहेकोले विस्तारै संक्रमणमा कमी आउने अपेक्षा गरेका छौँ ।” उनले संक्रमण घटाउन सबै सचेत हुनुपर्नेमा जोड दिए ।

पछिल्लो समय सुनसरीको इटहरी उपमहानगरपालिका पनि संक्रमणका हिसाबले ‘हटस्पट’ बन्न पुगेको छ । उपमहानगरले नगरवासीलाई स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्न आग्रह गरेको छ । कर्मचारीमा संक्रमण पुष्टि भएपछि उपमहानगर कार्यालयबाट हुँदै आएको सेवा यही साउन १८ गतेसम्मको लागि बन्द गरिएको छ ।

विराटनगरस्थित कोसी अस्पतालका मेसु चुमनलाल दास मानिसबीच दूरी कायम गराउँदा भाइरसको फैलावट रोक्न मद्दत मिल्ने भएकोले विश्वव्यापी रुपमा लकडाउनलाई सहारा बनाउने गरिएको बताउँछन् । उनले भने, “मास्क लगाउने र साबनु–पानीले हात धुने अनि धेरै भिड भएको ठाउँमा नगए महामारीमा बच्न सकिन्छ ।” उनले स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्न हेलचेक्र्याइँ गर्न नहुने बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button