नेपालमा कोरोनाको नयाँ ‘कप्पा’भेरियन्ट पुष्टि
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४७ वटा नमुना परीक्षण गर्दा तीन जनामा कोरोनाको नयाँ भेरियन्ट ‘कप्पा’ अर्थात् ‘के ४१७ एन’ (ए.वाई१) भेटिएको जनाएको छ ।
योसँगै नेपालमा कोरोनाका तीनवटा भेरियन्ट फेला परेका छन् । यसअघि अल्फा र डेल्टा भेरियन्ट फेला परेका थिए ।
जेठ मध्यदेखि असार मसान्तसम्ममा विभिन्न उमेर समूहका व्यक्तिहरुबाट संकलित नमूनामध्येबाट ४७ वटा नमूना परीक्षणका लागि दिल्ली पठाइएको र सबै नमूनामा डेल्टा भाइरस पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
त्यसमध्ये पनि ३ वटा नमूना थप उत्परिवर्तन के४१७एन म्यूटेसन भेटिएको छ जसलाई एवाइ१ नाम दिइएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
यी सहित नेपालमा भेरियन्ट कन्सर्नका रुपमा अल्फा (बी.१.१.७) र डेल्टा भेरियन्ट (बी.१.६१७.२) तथा भेरियन्ट अफ इन्ट्रेस्टका रुपमा कप्पा भेरियन्ट (बी.१.६१७.१) पुष्टि भएको छ ।
यी सबै भेरियन्टहरु बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरुलाई असर पार्ने विभिन्न अध्ययनबाट पाइएको मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जनाएका छन् ।
विश्व स्वास्थ्य संगठनको नेपाल कार्यालय र दक्षिणपूर्व एसिया क्षेत्रीय कार्यालयको सहयोग र समन्वयमा मन्त्रालयले ती नमूना नयाँदिल्लीस्थित ‘द इन्स्टिच्युट अफ जेनोमिक्स एन्ड इन्टिग्रेटिभ बायोलोजी’मा परीक्षणका लागि पठाएको थियो ।