No Image Headlineदेश

यस कारण सरकार र पार्टी दुवैतिर निर्णायक नेपाल समूह

Thrill Factory
Rungta Group

काठमाडौं -नेकपा एमाले नेपाल समूह यतिखेर राष्ट्रिय राजनीतिमा निर्णायक शक्तिका रूपमा देखिएको छ ।

नेपाल समूहका २८ जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतमा दायर रिटमा हस्ताक्षर गरेकै कारण अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । नेपाल समूहकै कारण देउवा संसद्मा विश्वासको मत लिन सफल हुनुभएको हो ।

तर, नेपाल समूहले पार्टी एकतामा जाने वा सरकारमा सहभागी हुने निर्णय गर्न नसक्दा प्रधानमन्त्री देउवाले दुई साता बितिसक्दा पनि मन्त्रिपरिष्दलाई पूर्णता दिन सक्नुभएको छैन । देउवा नेतृत्वको सरकार गठनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको नेपाल कम्युनिस्ट पार्टी एमालेको माधवकुमार नेपाल समूहलाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल निवास कोटेश्वरमै धाइरहनुभएको छ ।

नेपाल समूह सरकारमा सहभागी भएको खण्डमा नेपाल समूहलाई ६ देखि ८ वटा मन्त्रालय दिने सहमति बनेको छ । उता जसपा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव समूहले निर्वाचन आयोगबाट पार्टीको आधिकारिता पाएसँगै तत्काल सरकारमा सहभागी हुने भएको छ ।

परराष्ट्र, उद्योग, वाणिज्य तथा आपूर्ति र शहरी विकास मन्त्रालय ताकेको जसपाले कम्तीमा ६ वटा मन्त्रालय लिने भएको छ । तर, नेपाल समूह सरकारमा सहभागी हुने नहुने निक्र्यौल नभएसम्म यसै भन्न सकिने अवस्था छैन । सरकारलाई बलियो बनाउन विपक्षी गठबन्धनले नेपाल समूहको साथ खोजिरहेको छ ।

सभापति देउवालाई संसद्मा १ सय ६५ जना सांसदले विश्वासको मत दिएका थिए । जसमध्ये २२ जना नेपाल समूहका सांसद हुन् । जनता समाजवादी पार्टीको आधिकारिता निर्वाचन आयोगले उपेन्द्र यादवलाई दिएसँगै महन्त ठाकुर समूह तत्काल सरकारमा सहभागी हुने सम्भावना टरेको छ ।

प्रधानमन्त्री देउवालाई महन्त ठाकुर समूहका १२ जना सांसदले विश्वासको मत दिएको थियो । नेपाल समूह र ठाकुर समूहले सरकारलाई साथ नदिने हो भने संसद्मा विधेयक पास गर्न देउवा नेतृत्वको सरकारसँग बहुमत पुग्दैन । संसद्मा विधेयक पारित गर्न १ सय ३६ जना सांसदको आवश्यकता पर्छ ।

सरकारलाई असफल बनाउनका लागि एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाल समूहलाई उचित जिम्मेवारी दिन तयार हुनुभएको छ । सरकारबाट हटेपछि नेपाल समूहप्रति आक्रामक रूपमा प्रस्तुत हुँदै आएका ओलीले सकेसम्म नेपाल समूहलाई सरकारमा जानबाट रोक्न शक्ति बाँडफाँडका लागि समेत लचकता देखाएको बताइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button