महन्थ-राजेन्द्र पक्षलाई बेग्लै दल दर्ताको अनुमति, पक्षमा लाग्ने सांसदको पद जाने

काठमाडौं- निर्वाचन आयोगले महन्थ ठाकुर- राजेन्द्र महतो पक्षलाई छुट्टै दल दर्ता गर्न दिने भएको छ ।
जनता समाजवादी पार्टीको विवादमा उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको आयोगले ठाकुर पक्षलाई बेग्लै दल दर्ता गर्न दिने भएको हो ।


५१ सदस्यीय कार्यकारिणी समितिका ३४ जनाले हस्ताक्षर गरेपछि जसपाको आधिकारिकता यादव पक्षले पाएको छ ।
१६ जनाले हस्ताक्षर गरेको महन्थ ठाकुर पक्षलाई अर्को छुट्टै दल गठन गर्न दिने निर्णय भएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
निर्वाचन आयोगले जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएसँगै महन्थ ठाकुर पक्षका सांसदको पद धरापमा परेको छ । ठाकुरले अर्को दल गठन गरेमा र ती सांसदहरु उक्त दलमा आवद्ध हुनासाथ उनीहरुको सांसद पद स्वतः खारेज हुन्छ ।
कुनै सांसदले दल त्याग गरेको पुष्टि भएमा उक्त पद नरहने सहन्यायाधिवक्ता खेमराज ज्ञवालीले बताए । अहिलेको राजनीतिक दलसम्बन्धी ऐन अनुसार दलबाट राजिनामा दिएमा, आफू संलग्न भएर नयाँ दल गठन गरेमा वा अर्को दलमा संलग्न भएमा दल त्याग गरेको मानिनेछ ।