
रसुवा-उत्तरीनाका रसुवागढीबाट चिनियाँ सवारी साधनको आयात बढेको छ ।
गत आर्थिक वर्ष २०७७७८ मा चीनमा निर्मित सानाठूला ५६८ ओटा सवारी साधन नेपाल भित्रिएको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ ।


किसानले प्रयोग गर्ने हाते ट्र्याक्टर २४९, पिकअप भ्यान ३०, एम्बुलेन्स पाँच, जिप, कार र भ्यान ५०, सामान बोक्ने ठूलाठूला टिपर १३० र ३० सिट क्षमताको चार ओटा विद्युतीय बस आयात भएको कार्यालयका सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीले जानकारी दिए ।
व्यावसायिक कम्पनीले झिकाएका ती सवारी साधनको भन्सार प्रक्रिया पूरा भई प्रायः आ–आफ्ना गन्तव्यतर्फ लागिसकेका र भन्सार हाताबाट लैजान बाँकी सवारी साधन काठमाडौंका लागि प्रस्थान गराउने तयारी भएको छ ।
यस्तै आयात भएका सामग्रीमा तयारी पोशाक, जुत्ता तथा चप्पल, जिपकार भ्यान, होजियारी कपडा, ब्याग, मोबाइलका ब्याट्री, स्वास्थ्यका सामग्री, स्याउ, ओखर एवं लसुनलगायत विविध वस्तु रहेको बताइएको छ । नेपालका विभिन्न नदी खोलामा निर्माणाधीन जलविद्युत् आयोजनालाई आवश्यक पर्ने चिनियाँ उपकरणसमेत आयात भइरहेको छ । निर्यात भने शून्य रहेको छ ।