ककसले पाउँछन् जोन्सन एन्ड जोन्सन खोप ?
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीहरूका अनुसार सोमवारदेखि लगाउन सुरु गरिएको जोनसन एन्ड जोनसन खोप “५० देखि ५४ वर्ष उमेर समूहका कोभिडविरुद्ध खोपको पहिलो मात्रा लगाउन बाँकी सबै नेपाली नागरिकले पाउनेछन्।
त्यस्तै “पूर्ण र अति अशक्त अपाङ्गता (वर्ग क र ख) भएका नागरिक, नेपालमा बसोबास गर्ने शरणार्थी र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत सफाइ कर्मचारी”का लागि उक्त खोप वितरण गर्न थालिएको छ।
त्यस बाहेक जोनसन एन्ड जोनसन खोप अनिवार्य गरिएका राष्ट्रहरूमा जाने व्यक्तिहरूले पनि राहदानी र प्रवेशाज्ञाको प्रमाण देखाएर उक्त खोप लगाउन सक्ने बताइएको छ।
अमेरिकाले कोभ्याक्स सुविधा अन्तर्गत गत साता नेपाललाई १५ लाख खोप उपलब्ध गराएको थियो।
उक्त खोपले ५० देखि ५४ वर्षका १३ लाख नागरिक र अन्य तोकिएको समूहलाई खोप पुग्ने ठानिएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोख्रेलले बताए।
उनका अनुसार जोनसन एन्ड जोनसनको खोप लगाएपछि त्यसको ‘साइड इफेक्ट’ पनि देखिने भन्ने कुराहरू आएकाले “सुरुमा चिकित्सकको उपस्थिति भएको स्थानमा” मात्र लगाइएको छ।
“तर सोमवारको १९/२० हजार जनामा लगाउँदा अहिलेसम्म गम्भीर भएको रिपोर्ट आएको छैन,” उनले भने।
उनले अहिले प्राथमिक स्वास्थ्य केन्द्र भएका वा कोभिड अस्पतालहरू भएका नजिकका क्षेत्रहरूमा लगाइएको जानकारी दिए। बीबीसी