प्रधानमन्त्रीसँग निजीक्षेत्रले माग्यो १० प्रतिशत खोप
जीडीपीको ५ प्रतिशत राहत प्याकेजको व्यवस्था गर्न आग्रह

काठमाडौं । निजीक्षेत्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर कुल आयातको १० प्रतिशत कोरोना खोप निजी क्षेत्रलाई उपलब्ध गराउन माग गरेको छ ।
आर्थिक गतिविधिलाई बिस्तार गर्न ध्यानाकर्षण गराउँदै नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लको नेतृत्वमा चेम्वरका पदाधिकारीहरु तथा सदस्यहरुले प्रधानमन्त्री समक्ष भेटवार्ता गर्दै विश्व व्यापी कोरोना महामारीका कारण नेपाल पनि प्रभावित भएको र यसबाट थलिएको अर्थतन्त्रलाई उकास्न थप पहलकदमी गर्न माग गरेका हुन् ।


चेम्वर प्रतिनिधिमण्डलले निजी क्षेत्रलाई प्राथमिकताका आधारमा कुल आयातको न्युनतम १० प्रतिशत कोरोना खोप प्रदेश, जिल्ला नगर तथा गाउँ स्तरका चेम्वरहरु, समस्त उद्योगी तथा व्यवसायीहरु र उद्योग तथा यातायात क्षेत्रका मजदूरहरुलाई लगाउने सुविधा उपलब्ध गराइ दिन आग्रह गरेको छ ।
अध्यक्ष मल्लले गत वर्षदेखि नै नेपाली अर्थतन्त्रमा गम्भीर क्षति पुगेको र अर्थतन्त्रमा संकट आउँदा पहिलो क्षति निजी क्षेत्रले भोग्नु परेको बारे जानकारी गराउँदै मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको र निजी क्षेत्रको आत्मवल वृद्धि भएमा मात्र आर्थिक विकास तथा रोजगारीमा वृद्धि भइ अर्थतन्त्रमा योगदान पुग्न जाने बताए ।
साथै चेम्बरले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ५ प्रतिशत राहत प्याकेजको व्यवस्था गर्न पनि प्रधानमन्त्री समक्ष माग गरेको छ ।