अर्थ

स्वरोजगार र करार श्रमिकलाई समेट्दै सामाजिक सुरक्षा कोष

Thrill Factory
Rungta Group

काठमाडौं- सामाजिक सुरक्षा कोषले अनौपचारिक क्षेत्रका स्वरोजगार श्रमिकहरूलाई पनि समेट्ने तयारी थालेको छ । यस्ता श्रमिकहरूलाई योजनामा समेट्नेबारे मस्यौदा निर्माण अन्तिम चरणमा पुगेको कोषले बताएको छ ।

अनौपचारिक रोजगारीमध्ये कुनै एक प्रकारको रोजगारी वा क्षेत्र तोकी कार्यक्रम लागू गर्नेगरी अनौपचारिक क्षेत्रका श्रमिकलाई समेट्ने योजनाको मस्यौदालाई अन्तिम चरणमा पुर्‍याइएको हो ।  अनौपचारिक क्षेत्रका श्रमिकलाई समेट्न सरकारले केही नेपाल ऐनलाई संशोधन गरिसकेको छ ।

योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ मा अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्ति सामाजिक सुरक्षा योजनामा सहभागी हुन सक्ने व्यवस्था राखिएअनुसार कार्यान्वयनका लागि कार्यविधिको कामलाई तीव्रता दिइएको हो । ‘अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिले समितिको सिफारिशमा मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेबमोजिमको योगदान कोषमा जम्मा गरी सामाजिक सुरक्षा योजनामा सहभागी हुन सक्नेछ,’ ऐनमा भनिएको छ ।

अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेको व्यक्तिलाई सामाजिक सुरक्षा योजनामा प्रोत्साहन गर्न त्यस्तो व्यक्तिले सामाजिक सुरक्षा योजनामा गरेको योगदानको आधारमा तोकिएबमोजिमको रकम नेपाल सरकारले कोषमा जम्मा गरिदिने ऐनमा व्यावस्था छ । यिनै व्यवस्थालाई व्यावहारिक रूपमा लागू गर्न कोषले कार्यविधि बनाउने काम गरेको हो ।

ऐनअनुसार अनौपचारिक क्षेत्रको श्रमिक तथा स्वरोजगारमा रहेको व्यक्तिलाई सामाजिक सुरक्षा योजनामा सहभागी गराउने प्रयोजनका लागि सहकारी संस्था वा संघ, सामुदायिक वा अन्य व्यावसायिक संघ संस्थासँग कोषले सहकार्य गर्न सक्ने अधिकारसमेत दिइएको छ ।

कोषले अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षाका लागि कार्यक्रम तय गरी सामाजिक सुरक्षा योजना सञ्चालन गर्न सक्ने ऐनमा दिएको व्यवस्थालाई कार्यविधिको मस्यौदा बनाएर लागू गर्न खोजेको सामाजिक सुरक्षा कोषका प्रवक्ता विवेक पन्थीले बताए ।

करारमा रहेका सरकारी कर्मचारीहरूलाई समेत सामाजिक सुरक्षा कोषमा सहभागी गराउने गरी गृहकार्य थालिएको छ । यसका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा एक समितिसमेत बनेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button