
वीरगञ्ज-प्रहरीले पर्साको ठोरी गाउँपालिका वडा नं. ५ का ४८ वर्षीय पुरुषलाई बालिका बलात्कारको आरोपमा पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता ओमप्रकाश खनालका अनुसार स्थानीय १३ वर्षीय बालिकालाई बलात्कार गरेको उजुरीका आधारमा सुनिलकुमार परियार पक्राउ परेका हुन् ।


बालिकाको शारीरिक र मानसिक व्यहारमा परिवर्तन देखिएपछि उनका अभिभावकले सोधपुछ गर्दा बालिकाले ३ दिनपछि घटनाबारे बताएको प्रहरीले उल्लेख गरेको छ ।
परियारले आफ्ना नावालक छोराहरुसित खेल्न आएकी बालिकालाई गत असार २८ गते आफ्नै घरमा बलात्कार गरेको बालिकाले आफ्ना अभिभावकहरुलाई बताएकी थिइन् ।
बालिकाका अभिभावकले साउन १ गते प्रहरीमा जाहेरी दिएका थिए । सोही दिन पक्राउ परेका परियारलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।