No Image Headlineअर्थप्रदेश

अवैध कारोबार नियन्त्रणमा तात्यो पर्सा प्रहरी, ३४ करोडको तस्करीको मालसामान भन्सार पठायो

१३ भारतीयसहित २५ जनाविरुद्ध चल्यो हुण्डीको मुद्दा

Thrill Factory
Rungta Group

वीरगञ्ज- वितेको एक वर्षमा पर्सामा अनधिकृत तरिकाले कारोबार भइरहेको करीब ३४ करोड रुपैयाँ बराबरको मालसामान बरामद भएको छ ।

गत आर्थिक वर्ष २०७७/ ७८ मा वीरगञ्ज महानगर र ग्रामीण क्षेत्रबाट ३३ करोड ७० लाख रुपैयाँ बराबरका यस्ता बस्तु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालका अनुसार भन्सार छलेर भित्र्याइएका र अनधिकृत तरिकाले भारततर्फ निकासी गर्न लागिएको अवस्थामा विभिन्न बस्तु सामातिएको हो ।

मरीच, केराउ, ती मालसामान बोक्न प्रयोग भएका सवारी साधन, विद्युतीय सामान, विद्युतीय उपकरणका पाटपुर्जा, कपडा, किराना र खाद्यान्नलगायतका मालसामान बरामद भएको प्रहरीले बताएको छ ।

मरीच र केराउ नेपालबाट भारततर्फ अवैध रुपमा निकासी हुने गरेको छ । तेस्रो मुलुकबाट आयात गरिएका यी बस्तु स्थानीय व्यापारीले भारतीय बजारमा पठाउने गरेका छन् ।

भारतमा केराउ, मरीचलगायतका बस्तुको आयातमा उच्च दरको सिमा शुल्क लगाइएको छ । चर्को सिमा शुल्कका कारण भारतमा यस्ता बस्तुको मूल्य बढी भएको मौका छोपेर नेपालमा भित्रिएका यस्ता बस्तुको अवैध निकासी बढेको हो ।

भारतबाट कपडा, किराना, खाद्यान्न, विद्युतीय सामान र पाटपुर्जा भन्सार छलेर भित्रिने गरेको प्रवक्ता खनालले बताए । समातिएका मालसामान कारवाहीको लागि वीरगञ्ज भन्सारमा बुझाइएको जानकारी पनि उनले दिए ।

प्रहरीले ९ करोड रुपैयाँ मूल्यबराबरका सवारी साधन पनि कारवाहीका लागि भन्सारलाई बुझाएको छ । यसैगरी बितेको आर्थिक वर्ष पर्सामा २५ जनालाई हुण्डी कारोबारमा संलग्न भएको अभियोगमा मुद्दा चलेको छ । तीमध्ये १२ जना नेपाली र १३ जना भारतीय नागरिक छन् ।

ती व्यक्तिहरुबाट २ करोड १७ लाख रुपैयाँ बरामद भएको प्रहरीले बताएको छ । ३ लाख ९२ हजार रुपैयाँ र भारतीय रुपया ६ लाख ५० हजार कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको पनि प्रहरीले बताएको छ । गत वर्ष प्रहरीले २३ किलो सुन र ९० किलो चाँदीसमेत बरामद गरेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button