अर्थ

सरकारले पूँजीबजारलाई उच्च प्राथमिकतामा राख्छ : अर्थमन्त्री

Thrill Factory
Rungta Group

काठमाडौं-अर्थमन्त्री जनार्दन शर्माले आफ्नो कार्यकालमा पूँजी बजारलाई उच्च प्राथमिकतामा राख्ने बताएका छन्।

अर्थ मन्त्रालयमा शुक्रवार आयोजित परिचयात्मक पत्रकार सम्मेलनमा अर्थमन्त्री शर्माले शेयर बजारका लगानीकर्ताहरुलाई निराश पार्ने कुनै पनि काम सरकारले नगर्ने पनि बताएका छन् ।

‘सरकारले राजस्व परिचालनको गतिलो स्रोतका रुपमा पूँजी बजारलाई प्राथमिकता दिनेछ’, उनले भने, ‘यो क्षेत्रबाट गत आर्थिक वर्षमा सरकारलाई १४ अर्ब रुपैयाँ बढी राजस्व आएको रहेछ, चालू आर्थिक वर्षमा योभन्दा बढी राजस्व आउने गरी पूँजी बजारलाई प्राथमिकतामा राख्नेछु।’

उनले आफू अर्थमन्त्री भएलगत्तै शेयर बजार र त्यहाँका लगानीकर्ताहरुले विभिन्न कारण र घटनाक्रमले तल झरेको बजारको मनोबल उकास्ने विषयमा आफूलाई अनुरोध गरेको र  बजारका समस्याका विषयमा बुझ्ने काम पनि शुरु गरिसकेको पनि बताए ।

साथै उनले अर्थतन्त्रको पछिल्लो अवस्था समेटेर श्वेतपत्र आउने पनि बताएका छन्  । ‘म अर्थतन्त्रको अध्ययनकै चरणमा छु,’ उनले भने, ‘छिट्टै श्वेत पत्र ल्याउछौं।’

उनले अहिलेको सूचकांकले देखाएको अवस्थालाई श्वेतपत्रमा समेटिने जानकारी दिए । उनले आफ्नो, अर्थ मन्त्रालयको र सरकारको अर्थ नीति समेत श्वेतपत्रमा समेटिने बताए ।

साथै उनले अघिल्लो सरकारले अध्यादेशमार्फत् ल्याएको बजेट संसदमा पेश गर्ने पनि बताएका छन् । उनले चालू आवको बजेट प्रतिस्थापन गर्ने वा नयाँ बजेटको प्रक्रियामा जाने भन्ने विषय संसदले तय गर्ने बताए । साउन ३ गते संसद बैठक बोलाइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button