पुँजीगत खर्च ६४.५ प्रतिशतमा खुम्चियो

काठमाडौं-अघिल्लो वर्षझैं यस आर्थिक वर्ष पनि सरकारले लक्ष्य अनुसारको पुँजीगत खर्च गर्न सकेन, न त राजस्वको लक्ष्य नै भेट्न सक्यो ।
विकास बजेटको रुपमा लिइने पुँजीगत खर्च यस वर्ष पनि झण्डै साढे ६४ प्रतिशतमा नै सीमित रहयो । सरकारले चालु आर्थिक वर्षमा ३ खर्ब ५३ अर्ब रुपैयाँ बराबरको पुँजीगत खर्च गर्ने लक्ष्य लिएको थियो तर, आर्थिक वर्ष सकिँदा जम्मा २ खर्ब २७ अर्ब अर्थात् ६४.५३ प्रतिशत बराबरको पुँजीगत खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
अघिल्लो आर्थिक २०७६-०७७ मा भन्दा ३६ अर्बले पुँजीगत खर्च बढेपनि संशोधित लक्ष्यअनुसारको खर्च नभएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा भने सरकारले १ खर्ब ९१ अर्ब रुपैयाँ पुँजीगत खर्च गरेको थियो ।
समयमा बजेट खर्च गर्न नसक्दा यस वर्ष पनि सरकारले असारे विकासका रुपमा अधिकांश बजेट खर्च गरेको छ । कानुनी रुपमा २५ गते पछि अति आवश्यकबाहेक अन्य चेक काट्न नपाइने भएपनि संघीय सरकारले अन्तिम एक हप्तामा मात्र २३ प्रतिशत रकम खर्च गरेको छ ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार, संघीय सरकारले ५२ अर्ब ४९ करोड रुपैयाँ रकम अन्तिम हप्तामा खर्च गरेको छ, भने ३७ प्रतिशत अर्थात् ८४ अर्ब ६४ करोड रुपैयाँ रकम असार महिना भरीमा खर्च गरेको छ ।
यसअघि सरकारले प्रतिदिन औषत ४२ करोड ८४ लाखका हिसाबले खर्च गर्दै आएको थियो । तर, बजेट खर्च गर्न मिल्ने अन्तिम दिन अर्थात् बुधबार एकैदिन सरकारले १५ अर्ब ९७ करोड रुपैयाँ बराबरको पुँजीगत खर्च गरेको छ ।

