देशप्रदेश

वीरगञ्ज महानगर नेपालको पहिलो पूर्ण खोपयुक्त पालिका घोषणा

Thrill Factory
Rungta Group

वीरगञ्ज–वीरगञ्ज महानगरपालिकालाई पूर्ण खोपयुक्त पालिका घोषणा गरिएको छ ।

वीरगञ्जको नगरसभा गृहमा बिहीबार आयोजित घोषणासभामा प्रदेश नम्बर २ का खानेपानी तथा उर्जामन्त्री ओमप्रकाश शर्माले वीरगन्ज महानगरपालिकालाई पूर्ण खोप घोषणा गरे ।

घोषणा समारोहमा बोल्दै मन्त्री शर्माले बालबालिकाको पहिलो अधिकार स्वास्थ्य नै रहेकोले कोही पनि बालबालिका खोपबाट बञ्चित हुन नहुने बताए । अहिले संसारभर फैलिएको कोरोना महामारीमा स्वास्थ्य क्षेत्रमा निकै जटिलता आएको बताउदै तेश्रो भेरियण्टको जोखिम बालबालिकाहरु अझ बढी रहने विज्ञहरुको चेतावनीबाट सतर्क रहनुपर्ने अवस्था रहेकोले सतर्कता अपनाउन पनि आग्रह गरे ।

कोरोना संक्रमण महामारीले खोप कार्यक्रम प्रभावित भएपनि वीरगन्ज महानगरपालिकाले भने पूर्ण खोप घोषणा गरेकोमा बधाई तथा धन्यवाद दिनुभयो । कोरोना संक्रमण नियन्त्रण र व्यावस्थापनमा महानगरपालिकाले खेलेको भूमिका अत्यन्त उत्कृष्ट रहेको चर्चा गरे ।

महानगरप्रमुख विजयकुमार सरावगीले महानगरपालिकालाई पूर्ण खोप घोषणा गरेर मात्रै नहुने बताउँदै यसलाई निरन्तरता दिनका लागि स्थानीय वडा अध्यक्षलगायत जनप्रतिनिधिहरुको सक्रियता आवश्यक रहेको बताए । वडा अध्यक्षहरुले आफ्ना वडाहरुमा रहेको वडास्तरीय खोप समितिलाई सक्रिय बनाएर वडाभित्रका बालबालिकाहरुलाई खोपको सुनिश्चितताका लागि सक्रिय भूमिका खेल्न आग्रह पनि सरावगीले गरे ।

वीरगञ्ज महागनरपालिकाका जन्मिएदेखि १५ महिना सम्मका बालबालिकालाइ लगाईने १२ प्रकारका सबै खोप लगाइ सकेपछि पूर्णखोप घोषणा भएको महानगरका प्रेस सल्लाहकार गोबिन्द देवकोटाले जानकारी दिए ।

पूर्णखोप घोषणाका लागि वीरगञ्ज महानगरपालिकाको कार्यालयले केही समय पहिले महानगरका ३२ वटै वडामा बालबालिकाहरुको बारेमा २९ हजार १ सय ९३ घरधुरीमा सर्भेक्षण गरेको थियो ।

सर्भेक्षणका क्रममा २ हजार ६ सय ६१ जना भेटिएका र ती मध्ये जन्मिएदेखि १५ महिना भित्रमा सबै १२ प्रकारका खोप लगाउने बालबालिकाको संख्या २ हजार ६६ जना मात्र देखिएको महानगरका स्वास्थ्य तथा सामाजिक महाशाखा प्रमुख अरुण महतोले बताए ।

५ सय ८७ जना बालबालिकाले भने आवश्यक १२ प्रकारका मध्ये आंशिक मात्र खोप लगाएको भेटिएको थियो भने ८ जना बालबालिकाले भने कुनै पनि प्रकारको खोप नलगाएको फेला परेको थियो । सर्भेक्षणबाट प्राप्त प्रतिवेदनअनुसार महानगरका ३२ वटै वडामा स्वास्थ्यकर्मी र स्वयंसेविकाहरुलाई खटाएर खोप लगाउन छुटेका ५ सय ९५ जना बालबालिकालाइ आवश्यक १२ प्रकारको खोप लगाइएको महानगरपालिकाका खोप अधिकृत रितेश जयसवालले बताए ।

३२ वटै वडाहरुलाई क्रमश पूर्ण खोप वडा घोषणा गरेपछि महानगरपालिकालाई पूर्ण खोप घोषणा गरिएको हो ।

नगरस्तरीय खोप समन्वय समितिका अध्यक्ष एवं महानगर प्रमुख सरावगीको अध्यक्षतामा भएको कार्यक्रममा महानगर उपप्रमुख शान्ति कार्की, प्रमुख प्रशासकीय अधिकृत प्रदीप कुमार निरौला, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध गुप्ता, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, महानगरपालिकाका ३२ वटै वडाका अध्यक्ष, नगर कार्यपालिका सदस्यलगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वास्थ्य क्षेत्रमा खटिएका सबै स्वास्थ्यकर्मी र स्वयंसेवकहरुलाई प्रशंसा पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button