देशमुख्य खबर

शीर्षस्थ नेता-विप्लव भेटको के हो अन्तर्य ?

Thrill Factory
Rungta Group

काठमाडौं-बुधवार नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई भेट गरे। लामो समय भूमिगत रहेका विप्लव र प्रचण्डको भेट करिब ५ वर्षपछि भएको हो। यसअघि उनीहरु बिच कुनै भेट भएको थिएन।

उनीहरुको भेटको साक्षी बनेका थिए नेकपा पार्टीका अर्का नेता धर्मेन्द्र बाँस्तोला। प्रचण्ड निवास खुमलटारको भेटमा तीनै जना नेता प्रफुल्ल देखिएका थिए। यसअघि प्रचण्ड र विप्लव एक अर्कोलाई कटाक्षपूर्ण भाषणमा मात्रै सीमित थिए। फागुन २१ गते केपी शर्मा ओलीले नेतृत्व गरेको सरकार र नेत्रविक्रम चन्द विप्लव समूहबिच सहमति भएपछि उक्त समुह हिंसाको मार्ग छोडेर राजनीतिक बाटो सम्हालेको हो।

जतिखेर विप्लव सहमतिको बाटोमा आएका थिए त्यतिखेर अध्यक्ष दाहाल भने तत्कालीन नेकपा पार्टी भित्रको द्वन्द्वमा एउटा पक्षका रुपमा विद्रोही बनिसकेका थिए। तर, सर्वोच्च अदालतको फैसलापछि नेकपा माओवादी केन्द्र ब्युँतिएको छ। यतिखेर एमाले र माओवादी अलग भइसकेका छन्। त्यतिमात्र होइन, गत सोमवारको अदालतको फैसला अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गरेका छन्। देउवाले नेतृत्व गरेको सरकारमा माओवादी समेत समेटिएको छ।

कांग्रेसले नेतृत्व सम्हालेपछि विप्लवले एकाएक अध्यक्ष दाहाललाई भेट्नुले धेरै आशंका उब्जाएको छ। के फेरि टुक्रिएको माओवादी मिलन बिन्दुमा जान लागेको हो? बुधवारको भेट त्यसैको लागि नै थियो त? बैठकमा सहभागी नेता बाँस्तोलाले भने एकताको विषयमा कुनै कुरा नभएको दाबी गरेका छन्।

‘होइन। एकताको विषयमा कुरै भएको छैन। उहाँहरुको पार्टीमा सरकार भएकाले हाम्रो पनि माग पूरा हुनुपर्‍यो भनेर भेट्नमात्र पुगेका हौं,’ नेता बास्तोलाले भने।

फागुन २० गते तत्कालीन सरकारको तर्फबाट वार्ता टोलीका संयोजक रामबहादुर थापा बादल र विप्लव समुहका संयोजक खड्गबहादुर विश्वकर्मा बिच तीन बुँदे सहमित भएको थियो। विप्लव समूहमाथि लगाएको प्रतिवन्ध हटाउने, सम्पूर्ण राजनितिक क्रियाकलाप शान्तिपूर्ण रुपमा गर्ने दिने र  सम्पूर्ण बन्दीको रिहाई र मुद्दा खारेजीका विषयमा सहमति भएको थियो।

पार्टीमाथि लगाएको प्रतिबन्ध त फुकुवा भयो। तर, बन्दीहरु रिहा हुन सकेका छैनन्। त्यसैले ओली सरकारले आफ्नो माग पूरा नगरेको भन्दै विप्लव समूहले नयाँ सरकारलाई घच्घच्याएको नेता बास्तोलाले जानकारी दिए।

त्यसो त बुधवार मात्र होइन बिहीवार बिहानै संयोजक विप्लव, अध्यक्ष दाहाल  र नेकपा एमालेका नेता माधव कुमार नेपाल बिच भेट भएको थियो। उक्त भेट पनि आफ्ना माग पूरा गर्नका लागि भएको नेता बास्तोलाले बताए।

बुधवार विप्लवले अध्यक्ष दाहाल पत्ती सीता दाहाललाई समेत भेटेका थिए। सीता लामो समयदेखि बिरामी छिन्। विप्लवले सीतालाई भेटेको फोटो अहिले सामाजिक सञ्जालमा चर्चामा रहेको छ।

‘अध्यक्षसँगको भेटपछि उहाँलाई भेट्नु भएको हो। स्वास्थ्यको जानकारी लिनुभएको हो,’ नेता बास्तोलाले भने।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button