देशप्रदेश

काठमाडौँमा मेलम्चीको पानी पुन:अनिश्चित

Thrill Factory
Rungta Group

काठमाडौं-काठमाडौँमा फेरि कहिले मेलम्ची खोलाको पानी आइपुग्छ भन्ने अनिश्चित भएको छ । गत असार १ गतेदेखि लगातार ३ दिन आएको बाढीले आयोजनाको मुख्य बाँधस्थलमा क्षति पुर्‍याएको छ । आयोजनाको मुख्य बाँध ‘हेडवक्स’ बाढीले ल्याएको ढुङ्गा माटोले पुरिएको छ भने सुरुङभित्र पानी पठाउने मुख्य द्वार पनि पुरिएको छ ।

मेलम्ची खानेपानी विकास समितिले अहिलेसम्म क्षतिग्रस्त क्षेत्रमा स्थलगत रूपमा पुगेर अध्ययन गर्न सकेको छैन । हेलिकोप्टर तथा ड्रोनबाट गरिएको अवलोकनबाट हेडवक्सका सबै संरचना पुरिएको, बाँधस्थल तथा पानी पठाउने मुख्य द्वार पुरिएकाले झन्डै २ अर्ब हाराहारी क्षति भएको अनुमान गरिएको आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए ।
उनले भने, ‘हेडवक्स क्षेत्र करिब १० देखि १५ मिटर पुरिएको छ । नदी करिब १० मिटर पुरिएको देखिएको छ । नदी सफा काम गर्नेदेखि लिएर क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण गर्नका लागि करिब २ अर्ब जति रकम आवश्यक देखिन्छ ।’

यस्तै आयोजनामा काम गरिरहेको चिनियाँ निर्माण कम्पनीलाई काम गर्न म्याद थप गर्नेबारे समितिमा छलफल भएको छ । बाढीले निर्माण व्यवसायीका निर्माण उपकरणहरु पनि बगाएको छ ।

प्रवक्ता पन्तले भने, ‘यो काबु बाहिरको परिस्थिति भएको हुनाले निर्माण व्यवसायीको समय पनि थप गरिन्छ, उनीहरूलाई काम गराउन ठेक्का सम्झौताभित्र बाटै रहेर समय दिनुपर्छ ।’
आयोजना स्थलसम्म पुग्नका लागि यति बेला सडक सम्पर्क टुटेको छ । सडक तथा पुल बाढीले बगाएपछि वर्षायामभरि आयोजनास्थलमा गएर काम सुरु नहुने भएको छ । साउन(भदौसम्म वर्षा हुने भएकोले असोजदेखि मात्रै आयोजना स्थलमा पुग्ने बाटो निर्माण हुने र त्यसपछि मात्रै पूर्ण रूपमा अध्ययन गरेर काम थालनी हुने भएको हो ।

सडकबाट आयोजनास्थल जोडिए पनि निर्माण उपकरण र निर्माण सामग्री बगाएकोले त्यसको प्रबन्ध गर्न पनि समय लाग्ने देखिएको छ । बाढीले कति निर्माण उपकरण बगायो त्यसको यकिन अवस्था थाहा पाउन नसकिएको प्रवक्ता पन्तले जानकारी दिए ।

उनले भने, ‘निर्माण सामग्रीहरू, उपकरणहरू कति बगायो, अहिलेसम्म थाहा पाउन सकिएको छैन । पैदल रूपमा त्यहाँ जान सक्ने अवस्था नभएकोले अहिलेसम्म हेलिकोप्टर र ड्रोनबाट मात्र अवलोकन भएको छ । माथि डाँडाबाट हेर्दा त्यहाँ कुनै पनि निर्माण उपकरण र निर्माण सामग्री छैनन् । निर्माण व्यवसायीले पनि कति क्षति भयो भन्ने विवरण अहिलेसम्म दिन सकेको छैन ।’

बाढीले क्षति पुगेको झन्डै १ महिना पुग्दा पनि आयोजना स्थलमा पैदल जान सक्ने अवस्था नरहेको उनले बताए । वर्षा, बाढी पहिरोको अनिश्चितताले त्यहाँ पुगेर क्षतिको अवस्था नजिकबाट हेर्ने अवस्था नरहेको र वर्षा पूर्ण रूपमा रोकिएपछि मात्रै प्रारम्भिक काम सुरु हुने उनको भनाई छ ।

उनले भने,‘वर्षा पूर्ण रूपमा रोकियो र त्यहाँ पुग्ने बाटो भने मात्र हेडवक्समा पुगेर अध्ययन गरेर, लगत इस्टिमेट निकालेपछि नयाँ काम कति गर्नुपर्छ भन्ने थाहा हुन्छ । स्थलगत रूपमा पुगेर प्राविधिकहरूले सर्वे गरेपछि मात्रै लगत इस्टिमेट आउने भयो । नयाँ काम गर्न नियम कानुनको परिधिमा रहेर काम गर्नुपर्छ । त्यसका लागि समय लाग्छ । त्यस कारण मेलम्चीको पानी काठमाडौँमा आउने कुरा पछि मात्र थाहा हुने भयो ।’
मुख्य सुरुङमा केही नभएको अनुमान

गत असार १ गते दिउँसो बाढी आउनुपूर्व नै सुरुङमार्गको ढोका बन्द गरिएका कारण सुरुङ मार्गमा क्षति नपुगेको अनुमान गरिएको छ । काठमाडौँमा पानी ल्याउनका लागि बाँधस्थलमा बनाइएको सानो सुरुङको मुख टालिएको छ । सुरुङभित्र कति क्षति भएको छ स्थलगत अवलोकनपछि मात्रै थाहा हुने प्रवक्ता पन्तको भनाइ छ ।

आयोजनास्थल अम्बाथानमा रहेको पुल बगाएपछि त्यहाँ रहेको सुरुङको अडिट पोइन्ट पनि थुनिएको छ । सो क्षेत्रमा भएको क्षति पनि पछि मात्रै थाहा हुने भएको छ । बाढीको प्रभाव सकिएपछि असोजसम्म हेडवक्ससम्म पुगेपछि मात्रै स्थायी रूपमा कहिलेसम्म पानी काठमाडौँ ल्याउन सकिन्छ भन्नेबारे थाहा हुने पन्तको भनाइ छ । ।

गत चैत १५ देखि काठमाडौँ उपत्यकाको चक्रपथभित्रका क्षेत्रमा परीक्षणका रूपमा मेलम्चीको पानी वितरण थालिएको थियो । सुरुमा दैनिक ४ करोड लिटर पानी ल्याइएकोमा त्यसलाई बढाउँदै दैनिक ८ करोड लिटरसम्म ल्याइएको थियो । वर्षौंको प्रतीक्षापछि मेलम्चीको पानी काठमाडौँ आएपछि खुसी भएका काठमाडौंबासीले फेरि मेलम्चीको पानी पिउन केही समय पर्खनुपर्ने भएको छ ।रातोपाटी

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button