खबर फटाफटदेशप्रदेश

कोशीमा पानीको बहाव उच्च, २८ ओटा ढोका खुला खोलियो

Thrill Factory
Rungta Group

राजविराज -विगत केही दिनयता लगातारको वर्षाका कारण पानीको सतह बढ्ने क्रममा रहेको सप्तकोसी नदीमा शनिवार बिहान यो वर्षको हालसम्मकै उच्च बहाव मापन गरिएको छ ।

शनिवार बिहान ९ बजे गरिएको मापनअनुसार कोसी ब्यारेजमा दुई लाख ३१ हजार ५१५ क्युसेक पानीको बहाव छ । यसअघि शुक्रवार राति १२ बजे एक लाख ५५ हजार ७७५ क्युसेकभन्दा बढी पानीको बहाव मापन गरिएको ब्यारेजस्थित नियन्त्रण कक्षले जानकारी दिएको छ ।

नदीमा पानीको बहाव बढ्दो क्रममा रहेकाले कोसी ब्यारेजका ५६ मध्ये २८ ओटा ढोका खुला गरी पानीलाई निकास दिइएको छ । नदीमा पानीको बहाव बढिरहेकाले आसपास क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन स्थानीय प्रशासनले सूचित गरेको छ । पानीको बहाव बढ्दो क्रममा रहेकाले ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ ।

उच्च हिमाली तथा पहाडी क्षेत्रमा निरन्तर भइरहेको वर्षाका कारण कोशीमा मिसिने सहायक नदी तथा खोलामा समेत बाढी आउँदा यस नदीको पानी बहाव शुक्रवार रातभरमा २४ हजार ९९५ क्यूसेकले बढेको हो । वर्षा हुने क्रम अझै जारी रहेकाले जलस्तर अरु बढ्ने अनुमान गरिएको छ ।

५०० घर डुबानमा
लगातारको वर्षा भएपछि सप्तरीको विभिन्न पालिकाका ५०० भन्दा बढी घर डुबानमा परेका छन् । हनुमाननगर कंकालिनी नगरपालिकामा सप्तकोसी नदीको सिपेजको पानी र वर्षाको पानीको निकास नहुँदा ३ सयभन्दा बढी घर डुबानमा परेको छ ।

उक्त नगरपालिकाको वडा नं ९, १०, ११ र १२ का करीब ३०० घर डुबानमा परेको नगरप्रमुख शैलेशकुमार साहले जानकारी दिए ।

त्यस्तै त्रियुगा, अमहा, टेंग्रा, गङ्गाजली र सतरापतरा नदीको पानी बस्तीमा पस्दा सप्तरीको सप्तकोसी नगरपालिकाको वडा नं १, २, ३ र ४ का करीब २०० घर डुबानमा परेको नगरप्रमुख उत्तम गौतमले जानकारी दिए । उनका अनुसार त्रियुगा नदीले वडा नं २ को सिद्धिपुर र वडा नं ३ को सखुवानीमा तटबन्ध कटान गरिरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button