अन्तराष्ट्रिय

एकतिहाई भूभाग तालिवानको कब्जामा, सरकारी सैनिक भागेर ताजिकिस्तान पुगे

Thrill Factory
Rungta Group

काठमाडौं -तालिवानी विद्रोहीले अफगानिस्तानका ४ सयमध्ये एक तिहाइ जिल्ला आफ्नो नियन्त्रणमा लिएका छन् । समाचार संस्था एसोसियट प्रेसका अनुसार उत्तरी अफगानिस्तानमा तालिवान लडाकुहरूले धेरै क्षेत्र नियन्त्रणमा लिएपछि सरकारी सुरक्षाकर्मीहरू भागेर छिमेकी ताजिकिस्तान पुगेका छन् ।

उत्तरी प्रान्त बादखसानबाट झण्डै तीन सय अफगानी सुरक्षाकर्मी भागेर आफ्नो सीमाभित्र आइपुगेको ताजिकिस्तानले जनाएको छ । शनिबार साँझ साढे ६ बजेतिर अफगानी सुरक्षाकर्मीले सीमा पार गरेका थिए ।

भागेर आएका सुरक्षाकर्मीलाई मानवीयता र असल छिमेकीका नाताले शरण दिएको ताजिकिस्तानको भनाइ छ । २० वर्षदेखि अफगानिस्तानमा सेना पठाएको अमेरिकाले पछिल्लो समय आफ्ना सैनिकहरू फिर्ता लिइरहेको छ ।

यही वर्ष सबै सैनिक फिर्ता लिने तयारी गरिरहेको अमेरिकाले गत शनिबार बागराम एयरबेस अफगानिस्तानलाई हस्तान्तरण गरेको थियो । अमेरिका र नाटो मुलुकका सेना फर्किएपछि तालिवानहरूले विभिन्न जिल्लामा धावा बोलेका हुन् । कतिपय ठाउँमा भने सरकारी सुरक्षाकर्मीहरूले आत्मसमर्पण गरिरहेका छन् ।

केही ठाउँमा त तालिबानी लडाकुहरूले सुरक्षाकर्मीलाई घरसम्म जान पैसा दिएको भिडिओ पनि सार्वजनिक भएका छन् । यसले सुरक्षाकर्मीलाई ज्यान जोखिममा नराखिकनै जागिर छोड्न सकिने आत्मविश्वास दिएको छ । उत्तरी प्रान्त बादखसानका प्रदेश काउन्सिल सदस्य मोहिब उल रहमानले महत्वपूर्ण सामानको अभावमा खटिएका सुरक्षाकर्मीको कमजोर आत्मबलका कारण पनि तालबानीहरूलाई सजिलो भएको बताएका छन् ।

‘दुर्भाग्यवश, धेरैजसो जिल्लाहरू बिनालडाइँ तालिबानलाई छोडिएको छ,’ रहमानले एपीसँग भने । तालिबानहरूले अहिलेसम्म कुनै प्रान्तीय राजधानी भने नियन्त्रणमा लिएका छैनन् तर जसरी उनीहरू अघि बढिरहेका छन् त्यसले छिटै बादखसानको राजधानी नियन्त्रणमा लिन सक्ने सम्भावना छ ।

ट्विन टावरमा आक्रमण भएपछि सन् २००१ मा अमेरिकाले अफगानिस्तानमा सैनिक पठाएको थियो । तालिबानहरूलाई अपदस्त गरी आफूअनुकूलको सरकार बनाएको अमेरिकाले दुई दशकपछि अफगानिस्तानको भविष्य अन्यौलमा राखेर सैनिक फिर्ता लैजान लागेको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button