विद्युत् उत्पादनको तयारीमा रहेको अपर तामाकोशी : निर्माणमा ढिलाई हुँदा कम्पनीको लागत दोब्बर
तेस्रो चौमासमा साढे ३ करोड घाटा

काठमाडौं -अपर तामाकोशी हाइड्रोपावर कम्पनीले यही असार २१ गतेदेखि ७६ मेगावाट विद्युत् परीक्षणको रुपमा उत्पादन शुरु गर्ने भएको छ ।



कम्पनीले विद्युत् उत्पादन शुरु गरेसँगै शेयर मूल्यमा कस्तो असर पर्ला भन्ने आम लगानीकर्ताको चासोको विषय रहेको छ । राष्ट्रिय गौरवको ठूलो आयोजना भएकाले पनि दीर्घकालमा कम्पनीले लगानीकर्तालाई कस्तो प्रतिफल देला भनेर पनि धेरै लगानीकर्ताको चासोको विषय भएको हो ।



सञ्चार माध्यमबाट कम्पनीले विद्युत् उत्पादन गर्ने भन्ने समाचार आएको दुई दिन शेयर मूल्यमा सकारात्मक सर्किट पनि लागेको थियो । बिहीवार भने कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ३ रुपैयाँले घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू ७६७ कायम भएको छ । यस दिन कम्पनीको १ लाख १४ हजार ४७२ कित्ता शेयर खरीदविक्री भएको छ ।



एक महीना अगाडि पनि विद्युत् उत्पादन शुरु गर्ने हल्ला भएसँगै कम्पनीको उच्च शेयरमूल्य अर्थात् प्रतिकित्ता रू ९३० सम्म पुगेको थियो । कम्पनी चालू आवको तेस्रो त्रैमाससमा भने रू ३ करोड ५० लाख २८ हजार नोक्सानीमा रहेको छ ।
कोभिड १९ को असरले गर्दा आयोजना निर्माण अवधि र लागत बढ्दै गएको छ यसले गर्दा निर्माण अवधिको ब्याज, डलर सटही दर तथा अन्य व्ययभारले आयोजनाको लागत बढी भएको तर बिजुली विक्रीबाट हुने आम्दानी नबढ्ने हुँदा कम्पनीको प्रक्षेपित नाफा तथा नगद प्रवाहमा असर पुगेको कम्पनीको वित्तीय विवरणमा उल्लेख छ ।
हाल कम्पनीको चुक्तापूँजी रू१० अर्ब ५९ करोड रहेको छ भने जगेडा कोष रू ८२ करोड ५६ लाख २२ हजार ऋणात्मक रहेको छ । त्यसैगरी कम्पनीको दीर्घकालिन ऋण रू. ४० अर्ब ८ करोड रहेको तेस्रो त्रैमासिक वित्तीय विवरण उल्लेख गरेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी ४४ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ रू ९२ दशमलव २० पुगेको छ ।
लागत दोब्बर पुग्यो : निर्माणमा पटकपटक ढिलाई हुँदा कम्पनीको लागत सुरुको लागतभन्दा दोब्बर पुगिसकेको छ । २०६८ सालमा निर्माण सुरु गर्दा यस आयोजनाको लागत ३५ अर्ब २९ करोड अनुमान गरिएको थियो ।
अहिले यसको लागत ७३ अर्ब ७६ करोड प्रक्षेपण गरिएको छ । यसमध्ये ५१ अर्ब ९२ करोड लागत र २१ अर्ब ७४ करोड ब्याज हो ।
अहिले अपर तामाकोशीले नेपाल सरकार, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाल टेलिकम, राष्ट्रिय बीमा संस्थान लगायत संस्थाहरुसँग ऋण लिएर आयोजना निर्माण गरिरहेको छ ।
त्यस्तो ऋणको ब्याज निर्माण सम्पन्न नभएसम्म पुँजीकरण हुँदै जाने भएकोले यसले आयोजनाको लागत बढाउँदै लगेको छ ।